काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका–७ मा एक किशोरीको सामूहिक बलात्कार भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
यही चैत ३ गते साँझ मण्डनदेउपुर नपा–६ स्थित इन्द्रावती नदी किनारमा १४ वर्षीय एक किशोरीलाई सामूहिक बलात्कार गर्ने चारमध्ये तीनलाई प्रहरीले पक्राउ गरेको हो।
बलात्कारको आरोपमा मण्डन देउपुर नपा–६ देउपुरका २४ वर्षीय पुष्कर राई, २१ वर्षीय प्रकाश दनुवार र सोही नपा–७ का २१ वर्षीय रामकुमार राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।
अर्का एक किशोर भने फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
दनुवार र राई क्रसर उद्योगका ट्रिपर चालक हुन् भने रामकुमार सहचालक हुन्। नदीमा बालुवा सङ्कलन गर्ने ती किशोरीलाई डाँडखोला नजिक खोलाबाट सो उनीहरूले ट्रिपरमा लिएर गएका थिए।
पीडितका परिवारले यही चैत ४ गते जिल्ला प्रहरी कार्यालय धुलिखेलमा किटानी जोहरी दर्ता गरेका थिए। जिल्ला प्रहरीको टोलीले जाहेरी दर्ता गरेकै दिन आरोपित तीन जनालाई क्रसर उद्योगबाटै पक्राउ गरेको थियो।
पीडित किशोरीलाई उद्धृत गर्दै प्रनाउ गिरीले भन्नुभयो, 'मसँगै बालुवा जम्मा गर्ने हजुरआमालाई खोलामै छाडेर मलाई ट्रिपरमा चढाएर खोला किनारमा लगेर चार जनाले जबर्जस्ती गरेका हुन्।'
चैत ५ गतेनै आरोपितको म्याद थप गर्दै हिरासतमा राखी घटनाको अनुसन्धान गरिरहेको प्रनाउ गिरीले जानकारी दिए। पीडित किशोरीको सोही दिन स्वास्थ्य परीक्षण गरिएको थियो। आरोपितको कसुर प्रमाणित भएमा मुलुकी संहिताअनुसार १२ देखि १४ वर्षसम्म कैद सजाय हुने प्रावधान छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।