काठमाडौं– राष्ट्रिय खेलकुद परिषद्ले नेपाल लाइभका समाचार सम्पादक नवीन अर्याललाई सम्मान गरेको छ।
परिषदले ५४औं वार्षिकोत्सवका अवसरमा अर्यालसहित ६ पत्रकारलाई सम्मान गरेको हो । खेलकुद पत्रकारितामार्फत नेपाली खेलकुदको विकासमा योगदान दिएको भन्दै सम्मान गरेको हो।
अर्यालसँगै नेपाल टेलिभिजनका राजु सिलवाल, न्युज २४ का मुकुन्द दाहाल, कान्तिपुर दैनिका हिमेशरत्न बज्राचार्य, नागरिक दैनिकका अजय फुयाँल र बिबिसी नेपाली सेवाका निरञ्जन राजवंशी सम्मानित भए । उनीहरुलाई जनही १० हजार र सम्मानपत्र दिइयो।
परिषदले ७ खेलका ८ खेलाडीलाई खेलकुद राष्ट्रिय प्रतिभा सम्मान– २०७४ बाट सम्मानित ग¥यो । सम्मानित हुने खेलाडीमा एथ्लेटिक्सका हरिकुमार रिमाल, फुटबलका किरण चेम्जोङ, पारा तेक्वान्दोकी सीता भण्डारी, जुडोकी ममिता श्रेष्ठ प्रधान, आर्चरीका जितबहादुर मोक्तान, ब्याडमिन्टनकी नङशल तामाङ तथा भलिबलका इमबहादुर राना मगर र प्रतिभा माली छन् । भलिबलका दुवै खेलाडीले समान ५०–५० हजार तथा बाँकीले जनही १ लाख रुपैयाँसहित सम्मानपत्र पाए।
परिषदले अन्तर्राष्ट्रिय पदक जित्ने ३ सय १६ खेलाडीलाई नगदसहित सम्मान गर्यो । व्यक्तिगत स्पर्धामा १०३ स्वर्ण, ८४ रजत र ७५ कांस्य तथा टिम स्पर्धामा २८ रजत र २४ कांस्य पदक राष्ट्रलाई दिलाएका थिए । व्यक्तिगत र टिममा स्वर्ण जित्नेलाई १५ हजार, रजतलाई ८ हजार र कांस्यलाई ४ हजारका दरले नगदसहित सम्मान पत्र प्रदान गरिएको थियो।
परिषदले मकवानपुर जिल्ला खेलकुद विकास समितिका प्रमुख खुशराज दाहाल र प्राविधिकतर्फ ब्याडमिन्टन प्रशिक्षक मेघराज कठायतलाई सर्वोत्कृष्ट कर्मचारीको पुरस्कार प्रदान गरेको छ । प्रशासनतर्फ धनकुटा जिल्ला खेलकुद विकास समितिका प्रमुख नवीन प्रधान तथा प्राविधिकमा फुटबल सहायक प्रशिक्षक प्रकाश मल्ल उत्कृष्ट कर्मचारी बने । त्यस्तै आर्थिक प्रशासन शाखाकी रमा कोइराला प्रशासनतर्फ तथा तेक्वान्दो सहायक प्रशिक्षक पर्शुनारायण बोहरा परिषद् सेवा पुरस्कारबाट पुरस्कृत भए । सर्वोत्कृष्टलाई २५ हजार, उत्कृष्टलाई १५ हजार र सेवा पुरस्कारलाई जनही १० हजार रुपैयाँ दिइयो।
परिषदमा २५ र २० वर्ष सेवा पूरा गरेको कर्मचारीलाई पनि सम्मान गरिएको थियो । २५ वर्ष पूरा गर्नेमा वरिष्ठ अधिकृत कमल खनाल मात्र सम्मानित भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।