काठमाडौं- प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनाल मित्रराष्ट्र थाइल्यान्डको बैंककमा सम्पन्न हुने बिम्स्टेक राष्ट्रका सुरक्षा प्रमुखको सम्मेलनमा सहभागी हुन बुधबार त्यसतर्फ प्रस्थान गरेका छन्।
आइजिपी खनालसँगै कार्यक्रममा सहभागी हुन सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी नायब महानिरीक्षक खड्गबहादुर राई, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरुङ र परराष्ट्र मन्त्रालयका प्रतिनिधि शाखा अधिकृत सोमेश थापा समेत बैंकक प्रस्थान गरेका छन्।
उनीहरुलाई प्रहरी अतिरिक्त महानिरीक्षक, महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायब महानिरीक्षक लगायत वरिष्ठ प्रहरी अधिकृतहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा शुभकामना सहित हार्दिक बिदाइ गरेका थिए।
चैत ७ गते संचालन हुने उक्त कार्यक्रममा बिम्स्टेक सदस्य राष्ट्रका सुरक्षा प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहने कार्यक्रम रहेको छ।
सम्मेलनमा आतंकवाद, हातहतियार, लागूऔषध, मानव बेचबिखन लगायतका संगठित अपराध तथा विपद् व्यवस्थापन र सुरक्षा क्षेत्रका विविध विषयमा सदस्य राष्ट्रबीच सहयोग आदानप्रदान, क्षमता अभिवृद्धि, असल अभ्यास तथा अनुभव आदानप्रदानलगायतका विषयमा छलफल हुने बताइएको छ।
प्रहरी महानिरीक्षक खनालको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राईले प्रहरी प्रधान कार्यालयको दैनिक काम कारबाही सम्हाल्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।