काठमाडौं- प्रहरी अनुसन्धानलाई चकित पार्ने घटना मध्येका एक हो, पूर्वराजदूत केशवराज झा हत्याकाण्ड। जेरीझैं जेलिएको यो अनुसन्धानको पटाक्षेप अझै हुन सकेको छैन। अपराध अनुसन्धानमा निकै पोख्त मानिने नेपाल प्रहरीले आफ्नो अस्त्रले भ्याएसम्म प्रयोग गरेर अनुसन्धान गरे पनि हत्या भएको ७ महिना बितिसक्दा यसको गुत्थी अझै पत्ता लाग्न सकेको छैन।
प्रहरीले घटनाबारे उपलब्ध सूचनाहरूको विश्लेषण गर्दै झा हत्या अनुसन्धानको फाइल पल्टाउन भने छोडेको छैन। हरेक महिनादिनको फरकमा पल्टाउने फाइलले राजदूत हत्या अनुसन्धानको लेन्समा पक्राउ परेर धरौटीमा रिहा भएका व्यक्ति पर्ने गरेका छन्।
ती व्यक्ति हुन् फ्रान्सका लागि पूर्वराजदूत झाको घरमा भान्सेको काम गर्ने सानुकान्छा तामाङ। तर पर्याप्त कारण र आधार नहुँदा पूर्वराजदूत हत्या अनुसन्धानले पूर्णता पाउन नसकेको हो।
गत भदौ ३ गते राति बबरमहलस्थित आफ्नै निवासमा चक्कु प्रहारबाट ८० वर्षीय वृद्ध झाको हत्या भएको थियो। झामाथि १३ इन्च लामो घरेलु चक्कुले टाउकोमा ४ र घाँटी छेउमा २ पटक प्रहार गरेर हत्या गरिएको विवरण प्रहरी मुचुल्कामा उल्लेख छ। मध्यराति घरभित्र सुतिरहेको अवस्थामा झाको हत्या भएको थियो।
त्यसपछि अनुसन्धानमा खटिएको महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले झाको घरमा काम गर्ने सानुकान्छा तामाङ, आइतसिंह तामाङ र जयबहादुर तामाङलाई पक्राउ गर्यो।
पक्राउ परेका उनीहरू भदौ २९ गते ८/८ हजार रुपैयाँ धरौटीमा छुटे। महाशाखाले तीनैजनाको पोलिग्राफ परीक्षण गरेको थियो, जसमा आइतसिंह र जयबहादुरले झुटो नबोलको पत्ता लागेको थियो भने सानुकान्छाले झुटो बोलेको त्यसबेलै पत्ता लागको थियो।
पोलिग्राफमा झुटो बोलेको पत्ता लागेपछि प्रहरीले सानुकान्छाको नार्को समेत परीक्षण गर्यो। अभियुक्तलाई औषधी खुवाएर अर्धचेत बनाई मनोविज्ञले प्रश्न सोध्ने विधि हो नार्को। त्यसमा पनि कुनै नयाँ तथ्य फेला नपरेपछि प्रहरीले सानुकान्छालाई पनि छाडेको थियो।
तर प्रहरी अनुसन्धानले अझैपनि उनीमाथि शंका गर्ने ठाउँ देखाएको महाशाखा स्रोतले नेपाल लाइभलाई जानकारी दियो।
‘केही नयाँ तथ्य निस्किहाल्छ कि भनेर बेलाबेला फाइल पल्टाइरहेका छौं। शंका अझै सानुकान्छातिर देखिन्छ। तर त्यसलाई प्रमाणित गर्ने कुनै आधार छैन,’ महाशाखा स्रोतले नेपाल लाइभसँग भन्यो।
प्रहरीले सानुकान्छालगायत अन्य दुई जनाको फिंगर प्रिन्टसमेत चेक गरेको थियो। अपराधमा संलग्न भएको प्रमाणित हुन सक्ने कुनै आधारको संकेत भेटिएको थिएन।तर प्रहरीबाट छुटेकाहरु अहिले महाशाखाको टोलीले निगरानी भने गरिरहेको जानकारी दिइएको छ।
घटनालगत्तै प्रहरीले तालिमप्राप्त जर्मन सेफर्ड जातको म्याक्स नामको कुकुर अनुसन्धानमा परिचालन गरेको थियो। त्यसेबला म्याक्सले पनि तामाङतर्फ इंकित गरेको भनाइ प्रहरीको छ। पोलिग्राफमा धेरै कुरा ढाँट्नु र कुकुरले समेत केही शंका गर्ने ठाउँ देखाउनुले सानुकान्छामाथि अझैं शंका गर्ने ठाउँ रहेको महाशाखाको टोलीले बताउँदै आएको छ।
त्यसैगरी, हत्यामा प्रयोग भएको चक्कु झाको भान्साको हुनु र उनी आफैं भान्से भएकाले शंका गर्ने ठाउँ त्यहाँ पनि भएको प्रहरीले जनाएको छ।
केही तथ्यहरूले सानुकान्छातर्फ इंगित गरे पनि प्रहरीले प्रष्ट प्रमाण जुटाउन सकेको छैन। यदि सानुकान्छाले हत्या गरेको भए त्यसको कारण के त? यो प्रश्नको जवाफसमेत प्रहरीले पाउन सकेको छैन। अतः अनुसन्धान कठिन बनेको प्रहरीको भनाइ छ।
चाँडै पत्ता लाग्न अवस्था छैन : एसपी राठौर
झा हत्या अनुसन्धानको नेतृत्व गरिरहेका महाशाखाका एसपी सोमेन्द्रसिंह राठौरले अनुसन्धान निकै जटिल भएकाले अहिले नै पत्ता लाग्न सक्ने अवस्था नरहेको बताए। ‘निकै प्रोफेसनल तरिकाले हत्या गरेको देखिन्छ। हामीले आफ्नै तरिकाले अनुसन्धान त बढाएका छौं। तर पत्ता लाग्न निकै समय लाग्छ,’ एसपी राठौरले नेपाल लाइभसँग भने।
अहिले त महाशाखाले झा हत्यालगायत यस्ता अनुसन्धान गर्न समेत भ्याएको छैन। पछिल्लो समय नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का गतिविधिमा बढी केन्द्रित हुनु परेकाले महाशाखाले यस्ता गम्भीर प्रकृतिका अपराधको अनुसन्धानका लागि पर्याप्त समय पाउन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।