मकवानपुर– गाँजा नियन्त्रण अभियानलाई कडाइका साथ अघि बढाएको मकवानपुर प्रहरीले अर्को ठूलो सफलता हात पारेको छ। प्रहरीले सोमबार मात्रै १ सय ३ किलो गाँजा र तस्करीमा प्रयोग भएको बोलेरो जीपसहित एक जनालाई पक्राउ गरेको छ।
राति करिब साढे ११ बजे गस्तिमा खटिएको प्रहरी टोलीले राक्सिराङ गाउँपालिका-५ स्थित बिर्खे खोलाबाट गाँजा बाेकेको ग१ज ७२१९ नम्वरको बोलेरोसहित चालक मकवानपुरको राक्सिराङ–९ का २४ वर्षीय पूर्णबहादुर थिङलाई पक्राउ गरेको हो।
राक्सिराङबाट मनहरीतर्फ आउँदै गरेको बाेलेरो रोकेर जाँच गर्दा प्लास्टिकको ५ वटा बोराभित्र चारपाटे आकारमा १३ वटा पोका बनाइ लुकाई राखेको १ सय ३ किलो गाँजा बरामद भएको एसपी मुकेश कुमार सिंहले बताए।
गाँजा, मानिस र बोलेरो नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भइरहेको सिंहले जानकारी दिए।
तीन दिनअघि मात्रै प्रहरीले १ सय ८४ किलो गाँजासहित संलग्न ५ जनालाई पक्राउ गरेको थियो। जसमा ३ जना भारतीय नागरिकसमेत छन्। उनीहरुको साथबाट प्रहरीले ३ थान भरुवा बन्दुकसमेत बरामद गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।