मकवानपुर– मकवानपुरका विभिन्न स्थानबाट प्रहरीले १ सय ८४ किलो गाँजा, ३ थान भरुवा बन्दुक र गाँजा तस्करीमा संलग्न कारसहित ५ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३ जना भारतीय नागरिकसमेत छन्।
राक्सिराङ गाउँपालिका-१ बाट आइतबार ६१ किलो गाँजा र १ थान भरुवा बन्दुकसहित वडा नम्बर ७ का 'बलराम' भनिने चन्द्रबहादुर चेपाङ पक्राउ परेका छन्। गोप्य सूचनाका आधारमा आइतबार घर खानतलासी गर्दा ७ वटा बोरामा लुकाई राखेको गाँजा र सँगै भरुवा बन्दुक बरामद भएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी मुकेश कुमार सिंहले जानकारी दिए।
यसैगरी आइतबार नै हेटौंडा उपमहानगरपालिका-१५ बाट ४५ किलो गाँजा र कारसहित भारतिय नागरिक ३० वर्षीय बिष्णु कुमार साह, २८ वर्षीय अहमद गुल्जार र ३० वर्षिया रेणु देवी पक्राउ परेका छन्।
डब्लुबी ०६–६३०९ नम्बरको कारमा गाँजा बाेकेर हिँडेको पाइएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
यस्तै, शनिबार ७८ किलो गाँजा र २ थान भरुवा बन्दुकसहित राक्सिराङ गाउँपालिका-७ का २० वर्षीय 'दिपसन' भनिने सर्गलाल प्रजालाई प्रहरीले पक्राउ गरेको छ। ६ वटा बोरा र प्लास्टिकको पोकामा लुकाई राखेको गाँजा तथा भरुवा बन्दुकसमेत फेला परेपछि उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।
पक्राउ परेकाहरुको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ।
यसअघि गत फागुन ९ गते कैलाश गाउँपालिका–१ बाट प्रहरीले २ सय ७३ किलो चरेस र १ सय ९० किलो गाँजाको धुलोसहित स्थानीय 'मेवा' भनिने चन्द्रबहादुर घलान र धादिङ गजुरी गाउँपालिका–८ बस्ने ३६ वर्षीय 'पशुपति' भनिने जीवन तामाङलाई पक्राउ गरेको थियो।
संलग्नहरुलाई 'लागुऔषध नियन्त्रण ऐन, २०३३' बमोजिम २ वर्षदेखि १० वर्षसम्म कैद र १५ हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना तथा 'मुलुकी अपराध संहिता ऐन, २०७४' को परिच्छेद ६ को हातहतियार तथा खरखजना कसुरमा ५ बर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने एसपी सिंहको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।