जनकपुर- फागुपूर्णिमा अर्थात् हाेली आउन केही दिन मात्रै बाँकि छ। हाेलीका कारण जनकपुरकाे बजार क्षेत्र अविर, विभिन्न रङ, लोला तथा पिचकारीले भरिभराउ छन्। केटाकेटी, युवायुवतीदेखि उमेरले पाका व्यक्तिहरु पनि होलीका लागि चाहिने आवश्यक सामग्री खरिद गर्नमा व्यस्त देखिन्छन्।
हाेली आउनु केही समयअघि नै देखिएकाे चहलपहललाई हेर्दा पहिलेको तुलनामा यसपटक होलीको रौनक बढी रहेकाे जानकारहरु बताउँछन्।
वसन्त ऋतुको आगमनसँगै फागुन शुक्ल पूर्णिमाका दिन मनाइने यो चाड एक अर्कामाथि विभिन्न प्रकारका रङ दलेर मनाउने गरिन्छ। तराईतिर चतुर्दशीकाे राति होलिका दहन गर्ने चलन छ। होलिका दहन गरिसकेपछि पूर्णिमाका दिन बिहानैदेखि एकअर्कामा रङ दल्ने प्रचलन प्राचीन कालदेखि चलिआएको मान्यता छ। यस दिन बच्चादेखि वृद्धवृद्धासम्म सबै होलीको उल्लासमा रमाइरहेका हुन्छन्।

धार्मिक र सांस्कृतिक महत्व बाेकेकाे यस पर्वलाई एकअर्कामा आपसी भाइचारा र सम्बन्ध प्रगाढ बनाउने सामाजिक पर्वका रुपमा समेत हेरिन्छ। होलीको दिन पुरानो कटुता र दुस्मनि बिर्सेर एकआपसमा खुसी साट्ने गरिन्छ। फागु पूर्णिमाका अवसरमा रङका अलावा भेगीय हिसाबमा गाइने गीत र नृत्यलाई समेत विशेष महट्टवका साथ हेरिन्छ। तराई क्षेत्रमा पनि गीत तथा नृत्यमा झुम्दै एकअर्कामा रङ दल्ने परिपाटी छ। जसले सबैमा उत्साह र उमङ्गकाे सञ्चार गराउँछ।
होली प्रिन्टेड टिसर्टकाे क्रेज बढ्दो
धनुषा रमदैयाका दिपक यादव साेमबार बिहान महेन्द्रनगर बजारमा होलीका लागि टिसर्ट छान्दै थिए। भाइ र बहिनीलाई टिसर्ट किनिदिन महेन्द्रनगर पुगेका दिपेश यादवले आफूलाई पनि 'ह्याप्पी होली' लेखेको टिसर्ट किने। हरिहपुरकी रीता घिमिरेले पनि महेन्द्रनगरमा छोराछोरीलाई होलीको टिसर्ट किनिदिइन्।

वटेश्वर गाउँपालिका-५, शान्तिपुरका अरुण लामाले पनि आमासँग साेमबार नै महेन्द्रनगर आएर ‘ह्याप्पी होली’ प्रिन्ट गरेको टिसर्ट किनेर लगे। सेतो टिसर्ट लगाएर होली खेल्न मन लागेपछि १३ वर्षीय अरुण आफ्नो आमासँग महेन्द्रनगर आएका थिए। अघिल्लो वर्ष सबैले होलीको टिसर्ट लगाएको देखेपछि उनलाई पनि यो वर्ष ‘ह्याप्पी होली’ लेखेको टिसर्ट लगाएर होली खेल्ने रहर जागेको हो।
क्षीरेश्वरनाथ नगरपालिका-७ मा प्रत्येक सोमबार र शुक्रबार लाग्ने साप्ताहिक हाट ‘नयाँ बजार’मा केहिदिनयता होलीका लागि सामग्री खरिद गर्नेहरुको भिड लागेको छ भने बेच्ने व्यापारीहरुलाई पनि भ्याइ-नभ्याई छ। महेन्द्रनगरका व्यापारी दीपेन्द्र मण्डलले भने, ‘होलीमा पिचकारी, बेलुन, रङ बिक्री गर्न थालेको ५ वर्ष भयो, तर गत वर्षभन्दा यस वर्ष व्यवसाय बढेको छ।’ मण्डलले भनेजसतै उनको पसल अगाडि पनि ग्राहकको भीडभाड देखिन्थ्यो।
सखुवा बजारमा होलीका टिसर्ट बिक्री गर्न बसेका विश्वनाथ यादव पनि व्यस्त देखिन्छन्। बच्चादेखि बुढासम्मका होलीका टिसर्ट पाइने उनको पसलमा ग्राहकको भीड छ। यादव भन्छन्, ‘व्यापार राम्रै भइरहेको छ, तर ग्राहक बढेसँगै बिक्रेता पनि ह्वात्तै बढेका छन्।’

रङहरूको पर्व होलीले धनुषाका विभिन्न बजारहरुमा ग्राहक र व्यापारीको चहलपहल निकै बढेको छ। प्रदेश २ को राजधानी जनकपुरसँगै जिल्लाका व्यापारिक केन्द्र महेन्द्रनगर, ढल्केवर, सबैला, विरेन्द्रबजार, धनुषाधामलगायतका मुख्य बजारहरू 'गुल्जार' बनेका छन्। होलीका सामाग्री (टिसर्ट, रङ, अबिर, पिचकारी, बेलुन) पाइने पसलमा ग्राहकहरुको घुइँचो लागेको देखिन्छ।
कुन सामानकाे मूल्य कति?
व्यापारीकाे पनि व्यस्तता बढेकाे छ। होलीमा प्रिन्टेड सेता टिसर्ट, रङ, पिच्कारी, बेलुन, पेन्टको बिक्री बढेको छ। पसलभरी होलीका टिसर्ट झुन्डाइएका छन्। ‘ह्याप्पी होली’, ‘आयो होली’, ‘दाजुभाइ होली’लगायत प्रिन्ट गरिएका सेता टिसर्टले युवाहरुको ध्यानाकर्षण गरेको छ भने पाका उमेरकाहरुले होली खेल्नलाई सेतो कुर्ता र पाइजामा खरिद गरिरहेका व्यापारी यादव बताउँछन्।
बजारमा एक सय ५० रुपैयाँदेखि होलीका टिसर्ट किन्न पाइन्छन्। साना/ठूला सबै टिसर्टको मूल्य एउटै राखिएकाे छ। त्यसैगरी कुर्ता–पाइजामाको मूल्य ३ सय रुपैयाँदेखि एक हजार २ सयसम्म रहेको व्यापारीहरु बताउँछन्।

त्यस्तै, पिचकारी ५० रुपैयाँदेखि ८ सयसम्मका उपलब्ध छन्। एक किलो रङको मूल्य ३ सय रुपैयाँ रहेको महेन्द्रनगरका व्यवसायी रमेश गुप्ताले बताए।
टिसर्ट चीनबाट रङ भारतबाट आयात
नेपालमा चिनियाँ कपडाको टिसर्ट सिलाएर प्रिन्ट गरिन्छ। पिच्कारी, बेलुन चीनबाटै आउँछन्। होलीको रङ भारतबाट भित्रिन्छ। नेपालमा धेरैजसो रङ भारतबाटै भित्रिने गरेको व्यवसायी बताउँछन्।
होली प्रिन्ट गरिएका टिसर्ट नाइलन र कटन कपडामा उपलब्ध छन्। चीन र भारतबाट रोल कपडा आउँछ। कपडा काटेर विभिन्न साइजमा टिसर्ट सिलाएर प्रिन्ट गरिन्छ।
काठमाडौंको भोटेबाहालमा सबैभन्दा बढी टिसर्ट सिलाउने र प्रिन्ट गर्ने काम हुन्छ। त्यहाँका घर–घरमा कपडा सिलाउने र प्रिन्टको काम हुने महेन्द्रनगरका व्यापारी लालजी गुप्ताले बताए।
एकै पटक डेढ/दुई सय टिसर्टको पनि माग
होलीमा टिसर्ट खोज्दै आउनेमा स्कुल/कलेजका विद्यार्थी बढी हुन्छन्। साना बच्चाका लागि आमाबाबु नै टिसर्ट खोज्दै आउँछन्। एकै पटक डेढ/दुई सय टिसर्टको माग पनि आउने गरेकाे गुप्ता बताउँछन्। स्कुल, कलेज, संघसंस्थाका कार्यक्रममा ठूलो परिमाणमा होलीका टिसर्टको माग हुने गरेको छ।
जनकपुर उपमहानगरपालिकाको शिवचोकदेखि भानुचोक बीचका पसलहरुमा 'ह्याप्पी होली' लेखिएका सेता टिसर्टहरु भुन्ड्याएको र खरिद गर्नेहरुको भीड देखिएको छ।

यस्तै, रमानन्द चोकमा ठेलामा लोला तथा अविर बेच्नका लागि बसेका लक्ष्मण गुप्ताले व्यापार राम्रो भइरहेको तथा होलीका लागि आवश्यक सामान किन्न आउनेहरुको संख्या पनि धेरै भएको बताए।
जनकपुरका व्यापारी मनोज गुप्ताका अनुसार याे समयमा सबैभन्दा बढी पिचकारी र बेलुन बिक्री हुन्छ। केटाकेटीले बढी पिचकारी र बेलुन खोज्छन्। अनुहार रंगाउने सिल्भर, गोल्डेन कलरको बिक्री पनि बढेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।