काठमाडौं– पछिल्लो समय थारु कलाकारहरू नेपाली संगीततर्फ आकर्षित हुने क्रम बढ्दो छ। यस्तैमा थुप्रै थारु गीत गाइसकेका गायक नरेश जोगीले नयाँ नेपाली डान्सिङ गीत‘माया बस्यो लै लै’ सार्वजनिक गरेका छन्।
गीतमा गायिका शिक्षा ढुंगेलको समेत स्वर छ। नरेश स्वयम्को शब्द र संगीत रहेको गीतमा विशाल निरौलाको म्यूजिक एरेन्ज छ।
गीतको भिडियोमा नेपाली ठिटोजको डान्स क्रुसहित भारतको चर्चित रियोलिटी शो डान्स इन्डिया डान्सबाट चम्किएका नेपालीभाषी सुनिल क्षेत्री र पहिलो बुगीबुगी डान्स प्रतियोगिताकी विजेता कविता नेपालीको रोमान्टिक नृत्य छ।
ज्ञानेन्द्र शर्माले खिचेको भिडियोमा विकास ज्ञवालीको सम्पादन छ। निश्चल केसीले कोरियोग्राफी गरेको गीतको भिडियो निर्देशन शिशिर केसीले गरेका छन्।
यसैगरी गीतको निर्माण समूहले भिडियो सार्वजनिकसँगै यो गीतमाथि उत्कष्ट कभर भिडियो बनाउने दुईजना र उत्कृष्ट टिकटक भिडियो बनाउने एकजनालाई पुरस्कृत गर्ने समेत निर्णय गरेको छ।
उत्कृष्ट भिडियो बनाउनेमध्ये पहिलोलाई दुई लाख रुपैयाँ र दोस्रोलाई एक लाख रुपैयाँ दिइने गायक नरेश जोगीले बताए।
जोगीका अनुसार उत्कृष्ट टिकटक भिडियो बनाउने एक जनालाई ५० हजार रुपैयाँ नगद पुरस्कार समेत दिइने छ।
भिडियो जुलाई १५ सम्म पठाइसक्नुपर्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।