काठमाडौं– नागरिकता सम्बन्धी हुने कसुरमा जेल सजाय र जरिवाना दुवै बढ्ने भएको छ।
हाल राज्य व्यवस्था तथा सुशासन समितिमा दफाबार छलफल भइरहेको ‘नेपाल नागरिकता ऐन २०६३’ लाई प्रतिस्थापन गर्न बनेको विधेयकमा कैद र जरिवाना पहिलेको भन्दै धेरै गुणाले बढाउने सहमति भएको छ।
यसअघि रहेको कैद वा जरिवाना एक हुने वा दुवै हुनसक्ने व्यवस्थामा समेत परिवर्तन गरिएको छ। नागरिकताका विषयलाई लिएर अपराध ठहर भएमा जेल र जरिवाना दुवै सजाय हुने भएको छ।
विधेयकमा समेत रहेको ‘वा’ मा ‘र’ राखेर दुवै सजायको भागिदार बनाउन समितिका सदस्य सांसद एकमत भएका हुन्। बिहीबार भएको समितिको बैठकले केही नागरिकता सम्बन्धी अपराधको सजायमा समेत सहमति जुटाएको छ।
कुनै विदेशीले नेपाली नागरिक भएको दाबी गरी झुटो विवरण दिई नेपाली नागरिकता प्राप्त गरेमा ३ वर्षदेखि पाँच वर्ष कैद र १ लाखदेखि ३ लाख रुपैयाँसम्म जरिवाना हुने भएको छ।
विधेयकमा एक वर्षदेखि पाँच वर्षसम्म कैद वा ५० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था थियो।
यसैगरी कुनै विदेशीलाई झुटो विवरणका आधारमा नागरिकता दिलाउने कार्यमा सनाखत वा सिफारिस गरेमा ६ महिनादेखि डेढ वर्ष कैद र २५ हजार देखि एक लाख रुपैयाँ जरिवाना हुने व्यवस्था गरिएको छ।
यसैगरी कसैले नेपाली नागरिकता लिन आफू अन्य देशका नागरिक नहरहेको ‘स्वघोषणा’ झूटो ठहरेमा ३ देखि पाँच लाख रुपैयाँ जरिवाना र ३ देखि पाँच वर्ष जेल सजाय हुने प्रावधान बनाइएको छ।
फरक विवरण सहितको एक भन्दा बढी नागरिकता लिएको प्रमाणित भएमा १ देखि ३ लाख रुपैयाँ जरिवाना र ३ देखि पाँच वर्ष कैद सजाय हुनेछ। उसको नागरिकता सबैभन्दा पहिलो कायम गरेर अरु रद्द गरिने भएको छ।
यसैगरी यसपल्ट संसदले नागरिकताका विषयमा एउटा नयाँ व्यवस्था समेत गरिएको छ। जुन व्यवस्थामा आमाबाबुले आफ्नो सन्तानलाई नागरिकता दिलाउनु अनिवार्य रहेको छ।
यदि, नागरिकता दिन आनाकानी गरेर कुनै व्यक्ति नागरिकताबाट बञ्चित भएको प्रमाणित भएमा ६ महिना कैद र ५० हजार रुपैयाँ जरिवाना हुनेछ।
विधेयकमा ३ महिना कैद र १० हजार जरिवाना प्रस्तावित थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।