मेलम्ची (सिन्धुपाल्चोक)– मेलम्ची खानेपानी आयोजनाको चर्चा सुरु भएको २० वर्षभन्दा बढी भएको छ। तर खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुग्नै लाग्दा सुरुङ खन्ने ठेक्का पाएको इटालियन कम्पनी सिएमसी काम गर्न नसक्ने भन्दै हिँड्यो। उक्त कम्पनी हिँडेदेखि मेलम्ची आयोजनको मुख्य सुरुङस्थल अम्वाथान भने सुनसान रहेको छ।
नेपाली सेनाको सुरक्षामा रहेको राष्ट्रिय गौरवको आयोजनाको मुख्य सुरुङस्थलमा ड्याम खन्नेदेखि सुरुङको काम गर्न थुपारिएका समानहरु यत्रतत्र छरिएका छन्।
सिएमसीले आयोजना छोडेलगत्तै आयोजनाको काम रोकिएको छ। २०५५ सालदेखि मेलम्चीको पानी खाने पाउने आसमा रहेका काठमाडौंवासी निराश भएका छन्।
आयोजनाका स्थानीय ठेकेदारहरुले मात्र करिब १ अर्बको रकम भुक्तानी पाएका छैनन्। कामदार र श्रमिकहरुले समेत ५ महिनादेखि तलब पाएका छैनन्। सिएमसीसँग काम गर्दै आएका सब-ठेकेदारले पैसा नपाउँदा श्रमिकहरुले समेत ज्याला पाउन सकेका छैनन्।
२०४७ सालमा कृष्णप्रसाद भट्टराईको भाषणमा मेलम्ची सुरु गर्ने घोषणा गरेका थिए। यसरी सुरु भएको मेलम्ची खानेपानी आयोजना निर्माण थालनीपछि मात्र १८ जना प्रधानमन्त्री फेरिए।
पछिल्लो समय सरोकारवाला खानेपानी मन्त्रालय रहेको छ। जसमा मन्त्री छिन्, बिना मगर। यही आयोजनाकै विषयलाई लिएर सचिव र मन्त्रीबीच आयोजना रोकिनुमा एक अर्कालाई दोषारोपण गरिरहेका छन्। तत्कालीन सचिव गजेन्द्र ठाकुरको यही विवादका कारण सरुवा समेत भएको छ।
२०४८ सालकै आम निर्वाचनको प्रचारप्रसारमा भट्टराईले ‘काठमाडौंका सडकसमेत मेलम्चीको पानीले पखालिनेछ’ भनेपछि यसको आम चर्चा भएको थियो। त्यसअघि २०४५ मा बेलायतको ‘बिन्नी एन्ड पार्टनर्स’ले मेलम्चीको अध्ययन गरेको थियो। भट्टराईले भन्न त भने तर आयोजना निर्माणबारे कुनै पनि कार्ययोजना त्यसबेला बनेन।
भट्टराईको अन्तरिम सरकारको समयमा आवास तथा भौतिक योजनामन्त्री अच्युराज रेग्मी थिए। २०४९ सालमा भने मेलम्चीबारे अस्ट्रेलियन कम्पनी ‘स्मेक कन्सल्टेन्ट’ले पुनः अध्ययन गरेको थियो।
२०५५ कात्तिक २३ गते मेलम्ची खानेपानी विकास समिति गठन भएपछि आयोजना औपचारिक रुपमा सुरु भएको थियो। त्यसदेखि हालसम्म १८ प्रधानमन्त्री, २४ विभागीय मन्त्री र २७ सचिव तथा अध्यक्ष फेरिएका छन्। तर विकास समिति गठन भएको २० वर्षसम्म आइपुग्दा पनि पानी काठमाडौं आउने वातावरण निर्माण भएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।