काठमाडाैं- काठमाडाैंको हनुमानढोकास्थित वसन्तपुरमा होलीको चीर ठड्याइएको छ।
काठमाडाैंको हनुमानढोकास्थित वसन्तपुरमा बिहीबार बिहान रंगीविरंगी कपडाहरुको ध्वजापताकासहितको तीन खण्डे चीर ठड्याइएको हो। चीर ठड्याएसँगै राजधानी काठमाडौंलगायत मुलुकभर औंपचारिक रुपमा होली पर्व सुरु भएको मानिन्छ।
नेपाल पञ्चाङ्ग निर्णयक समितिले चीर ठड्याउनको लागि आज उत्तम साइत रहेको निर्णयसँगै आज चिर ठडाइएको हो।
होली पर्वको शुभारम्भ भएको जनाऊ दिन वसन्तपुरमा चीर ठड्याउने गरिएको धालासिक्व मानन्धर सनाः गू खलःका सचिव मदनरत्न मानन्धरले जानकारी दिए।
बिहीबार बिहान ११ बजेर ५५ मिनेटको साइतमा वसन्तपुरस्थित हनुमानढोका दरबारको दक्षिण पटाङ्गिनी, ऐतिकासिक मोहनकाजी चोक तथा दाखचोकमा ३२ फुट उचाइको तीन खण्डे गजुर जस्तो देखिने रंगीविरङ्गी होली चीर ठड्याइएको हो। चीर ठड्याइसकेपछि गुर्जुको पल्टनबाट हर्ष बढाइ गरिएको थियो।
सचिव मानन्धरले पाैराणिक कालदेखि सुरु भएको होलीको विशेष महत्व रहिआएको बताए। होली पर्वलाई वसन्त ऋृतुको आगमनको खुसीयालीमा रङसहित मनाउने पर्वको रुपमा लिने गरिएको छ।
धार्मिक ग्रन्थहरुमा उल्लेख भएअनुसार हिरण्यकश्यपुले भगवान विष्णुका भक्त भएका कारण आफ्नै छोरा प्रह्लादलाई मार्न आफ्नी बहिनी होलिकाको काखमा बसाली आगो लगाइदिएका थिए। तर, आगोले विष्णुका भक्त मार्न प्रयास गर्ने होलिका नै भष्म एकी थिइन्। आगोले प्रह्लादलाई कुनै पनि असर नगरेकाे धार्मिक विश्वास छ।
यही विश्वासअनुरुप होलिकाको मृत्युको विजयोत्सवका रूपमा अबिर लगाएर होली खेल्ने गरिन्छ।
आपसमा रङ र अबिर दलेर खुसी साटासाट गर्दै मनाइने यो पर्वको बेग्लै धार्मिक, सांस्कृतिक र सामाजिक महत्व छ। असत्यमाथि सत्यको विजय भएको उत्सवका रूपमा रङ दलेर यो पर्व मनाउने गरिन्छ।
प्रत्येक वर्ष फागुन शुक्ल अष्टमीका दिन रंगीविरङ्गी कपडाका ध्वजापतकासहित सजाइएको बाँसको तीन खण्डे चीर ठड्याएपछि मुलुकभर होली प्रारम्भ भएको मानिन्छ।
फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्ल पूर्णिमासम्म होली पर्व मनाउने गरिन्छ। यस वर्ष काठमाडाैंलगायत पहाडी जिल्लाहरुमा चैत्र ६ गते बुधबार र तराई मधेसका जिल्लाहरुमा चैत्र ७ गते बिहीबार होली पर्व परेको छ। होलीमा सरकारले सार्वजनिक बिदासमेत दिने गर्दछ।
चीर ठड्याउँदै गर्दाका केही तस्बिरहरु:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।