काठमाडौं– प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले बुधबार आयोजित एक समारोहबीच प्रदेश प्रहरी कार्यालय विराटनगरको कार्यालय भवन शीलान्यास गर्दै प्रहरीलाई गाडी हस्तान्तरण गरेका छन्।
मुख्यमन्त्री राईले प्रदेश सरकारको तर्फबाट प्रदेश प्रहरीलाई १५ वटा चारपाङग्रे गाडी र २ सय वटा मोटरसाइकल हस्तान्तरण गरेका हुन्। उक्त अवसरमा मुख्यमन्त्री राईले नागरिकको सूचना र सुरक्षाको लागि स्टिकर अभियान, सिसिटिभी जडान, झापा जिल्लालाई १ नम्बर प्रदेशको नमूना जिल्ला बनाई प्रदेशबाट विकास र समृद्धिलाई एकसाथ अगाडि लैजाने कार्यक्रम रहेको बताए।
विकास र समृद्धिको अपरिहार्य सर्त सुरक्षा भएकाले सबै किसिमका भय, अपराधबाट समाजलाई मुक्त गर्न सकेमा मात्र विकास र समृद्धिको सुमार्गमा पुग्न सकिने चर्चा गर्दै उनले प्रदेश सरकार विकास, समृद्धि र सुशासनको अभियानमा रहेको उल्लेख गरे।
मारोहमा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतबहादुर कार्कीले प्रहरीका जीर्ण भवनहरूलाई पुननिर्माण गरी प्रहरीलाई साधनस्रोत सम्पन्न बनाई उच्च मनोबलयुक्त प्रहरीको सेवा सञ्चालनबाट नै पूर्ण सुरक्षा हुन सक्छ भन्नेमा आफू विश्वस्त रहेको बताए।
समारोहमा धन्यवाद ज्ञापन गर्ने क्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीलाई चुस्त दुरुस्त र प्रविधिमैत्री बनाउने प्रदेश सरकारको परिकल्पना रहेकोमा खुसी व्यक्त गरे।
समारोहमा १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक केदार रिजालले स्वागत मन्तब्य व्यक्त गर्दै सुरक्षा पहिलो र आधारभूत सर्त रहेको अवस्थामा प्रदेश सरकारबाट नेपाल प्रहरीलाई भौतिक पूर्वाधारयुक्त बनाउने नीति अत्यन्तै सान्दर्भिक रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।