काठमाडाैं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता देवेन्द्र पौडेलले नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई नियन्त्रण गर्ने सरकारको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
नेता पौडेलले चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई निषेध गरेर नभई वार्तामार्फत शान्तिपूर्ण ढंगले सो समस्याको समाधान गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए।
‘शान्तिपूर्ण ढंगबाटै सो समस्यालाई पनि सरकारले समाधान गर्नुपर्छ', नेता पौडेलले बुधबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै भने, 'धकेल्ने, निषेध गर्ने वा जबरजस्ती गरेर कुनै पनि पक्षलाई युद्धमा जाने बाध्यात्मक अवस्था राज्यले बनाउनु हुँदैन।’
उनले चन्द नेतृत्वको पार्टीलाई जब्बरजस्ती गर्न खोजे मुलुकको विकास निर्माणको कामलाई गम्भीर असर पर्नेतर्फ पनि सरकारलाई सचेत गराए। मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले चन्द नेतृत्वको नेकपाको गतिविधि आपराधिक भएको निष्कर्ष निकाल्दै नियन्त्रण गर्ने निर्णय गरेको थियो। सो निर्णयप्रति नेता पौडेलको असन्तुष्टि छ।
नेता पौडेलले सिके राउत समूहले विगतका आफ्ना गतिविधि कायमै राखे उसँग गरिएको सहमतिबारे पनि सरकारले पुनर्विचार गर्नुपर्ने स्पष्ट पारे। उनले सरकारलाई जनताको अपेक्षा अनुसारको कामलाई तिखारेर तीव्र गतिका साथ अघि बढाउन पनि आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।