काठमाडौं– राष्ट्रिय जनता पार्टी राजपाले बुधबारको संसद बैठक अवरुद्ध गरेको छ।
अघिल्लो बैठकमा राजपाका अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादवले गिरिशचन्द्र लाल नेतृत्वको समितिले तयार पारेको टीकापुर घटनाको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका थिए।
सभामुखले सरकारलाई रुलिङ गरेका थिए। तर प्रतिवेदन सार्वजनिक नभएपछि बुधबारको बैठक अवरुद्ध गरिएको हो।
आजको बैठकमा राजपा सांसद राजकिशोर यादवले संबोधन गरेका थिए।
'गिरिशचन्द्र लाल नेतृत्वको अयोगको प्रतिवेदन सार्वजनिक गर्न यसअघि नै माग गरेका छौं', यादवले भने, 'सभामुखको रुलिङपछि गृहमन्त्रीले आलटाले जवाफ दिनुभयो। यसबाट राजपा सन्तुष्ट हुन सकेको छैन।'
यादवले सो प्रतिवदेन सार्वजनिक हुने बित्तिकै सरकारले कसरी आन्दोलनलाई बर्बरापूर्वक दबाएको थियो त्यसको खुलासा हुने दाबी गरे। 'टीकापुर घटनालाई जसरी आपराधिक घटनाका रुपमा प्रचार गरिएको छ, त्यो भ्रम पनि हट्छ', उनले भने।
बैठक १० मिनेट पछि पुनः बस्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।