भरतपुरकाे ५ नम्बर वडा कार्यालयमा बम बिस्फोट, भवन क्षतिग्रस्त

नेपाल लाइभ | २०७५ फागुन २९ बुधबार | Wednesday, March 13, 2019 ०५:४६:०० मा प्रकाशित

चितवन- चितवनस्थित भरतपुर महानगरपालिका वडा नम्वर ५ को कार्यालयमा बम बिस्फोट गराइएकाे छ। बुधबार बिहान शक्तिशाली सिलिण्डर बम बिस्फाेट गराइएकाे जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशीलसींह राठौरले बताए।

बिस्फोटका कारण वडा कार्यालय भवन क्षतिग्रस्त भएको राठौरले जानकारी दिए। 'घटना आज बिहान साढे १२ बजेतिरको समयमा भएकाे हाे', उनले भने, 'बम विस्फोटबाट कार्यालय भवन क्षतिग्रस्त भएकाे छ, तर रातकाे समयमा कार्यालयमा काेही पनि नरहने भएका कारण कुनै पनि मानवीय क्षति भएकाे छैन।'

शक्तिशाली सिलिण्डर बम बिस्फोटपछि भवनमा आगलागी भएको थियो। विस्फाेट तथा आगलागीकाे खबर पाए लगत्तै प्रहरी घटनास्थल पुगेकाे र भरतपुर महानगरकाे दमकल तथा स्थानीयकाे सहयाेगमा आगाे निभाइएकाे प्रहरी उपरीक्षक राठाैरले बताए।

उनका अनुसार बिस्फोट कसले गराएको हाे भन्ने सम्बन्धमा हालसम्म केही खुलेकाे छैन। प्रहरीले अनुसन्धान अघि बढाएकाे उनले जानकारी दिए।