काठमाडौं– व्यवस्थापन संकायमा स्नातक गरेपछि करिअर 'सेफ ल्यान्डिङ' गर्न भौंतारिइरहेकी थिइन् निरिसा बस्नेत।
परिवारका सदस्य विदेशमा थिए। स्नातकोत्तर अध्ययन गर्न 'प्रेसर' आइरहेको थियो। तर, निरिसामा थप अध्ययनको मोह पटक्कै भएन।
अनलाइन भएका बेला संयोगले एकदिन एयरहोस्टेसको काम गर्ने अवसर आएको उनले थाहा पाइन्। परिवारलाई समेत थाहै नदिइ उनी मुम्बई उडिन्, एयरहोस्टेस बन्ने सपना बोकेर।
तर, उनको एयरहोस्टेस बन्ने सपना बीचैमा टुंगियो।
उनी कुनै पनि एयरलाइन्सका लागि छनोट हुन सकिनन्।
त्यसपछि उनले मुम्बई सहरमा जीवनलाई नयाँ मोड दिने सुर कसिन्।
उतै मोडलिङ 'जोइन' गरिन्। समयक्रमअनुसार ग्ल्यामरको दुनियाँमा उनको रस भिज्दै गयो। त्यहाँका निकट व्यक्तिहरूसँग निरिसा नजिकिँदै गइन्। यही क्रममा उनी भारतीय चर्चित टेलिभिजन ‘स्टार प्लस’मा प्रसारण हुँदै आएको टेलिशृंखलाको ‘चन्द्र नन्दिनी’का लागि अडिसन दिन पुगिन्।
त्यही अडिसन नै निरिसाको अभिनय यात्राको पहिलो परीक्षा बन्यो।
उनी पास भइन्।
साइड क्यारेक्टरका रुपमा निरिसाले ३ महिनासम्म टेलिशृंखलामा अभिनय गरिन्।
उतिबेला निरिसाको परिचय ‘निरिसा बस्नेत’ थिएन। उनलाई सबैले नेपाली मूलकी कलाकार भनेर चिन्थे।
उनी गर्व गर्दै भन्छिन्, ‘मैले त्यत्रो चर्चित टेलिशृंखलामा काम गरेँ। तर, मलाई मेरो नामले नभएर नेपाली मूलकी कलाकार भनेर चिन्थे। त्यति बेला लाग्थ्यो मैले नै सिंगो नेपाललाई प्रतिनिधित्व गरेकी छु।’
उनै निरिसा यतिबेला चैत्र १ गतेबाट प्रदर्शन हुने फिल्म ‘जानी नजानी’को प्रमोसनमा व्यस्त छिन्।
यही फिल्ममार्फत् उनले नेपाली रजतपटमा पाइला टेक्दैछिन्। हुन त निरिसाको परिचय यतिमा मात्र सीमित छैन।
बुबा विश्व बस्नेत नेपाली फिल्मक्षेत्रका सफल कलाकार, लेखक तथा निर्देशक हुन्। आमा शारदा श्रेष्ठलाई पनि कलाकारिता क्षेत्रबारे राम्रो ज्ञान छ।
यिनै नव-अभिनेत्री निरिसा बस्नेतको अभिनय यात्राबारे नेपाल लाइभका मनोज न्यौपानेले गरेको भिडियो अन्तर्वार्ताः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।