जनकपुर- जनकपुर प्रहरीले अवैध सुनसहित २ जना भारतीय तस्कर पक्राउ गरेको छ। गएराति जिल्ला प्रहरी कार्यालय धनुषाको गस्ती टोलीले सुराकीले दिएको सूचनाका आधारमा जनकपुरधाम उपमहानगरपालिका–१५ लोहना जाने बाटोबाट उनीहरुलाई पक्राउ गरेको हो।
अवैध सुनचाँदीसहित भारत बिहार मधुबनी जिल्ला बासोपट्टी निवासी कृष्णकुमार महतो र परमेश्वर महतोलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।
उनीहरूको साथबाट १ सय ग्राम सुन, २५ किलो चाँदी र बिआर ३२ एस ४३५७ नम्बरको भारतीय मोटरसाइकल समेत बरामद गरेको छ। उनीहरूले मोटरसाइकलको तेलको ट्यांकीमा लुकाएर सुनचाँदी भारततर्फ लगिरहेका थिए।
सुराकीको पूर्वसूचनाको आधारमा प्रहरीले मोटरसाइकलको ट्यांकी जाँच गर्दा सुनचाँदी बरामद भएको थियो। बरामद सुनचाँदीको मूल्य मोटरसाइकलसहित २२ लाख १२ हजार ९ सय ५० रुपैयाा बराबर रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
प्रहरीले सोमबार पत्रकार सम्मेलन आयोजना गरी बरामद भएको सुनचाँदी र तस्कर सार्वजनिक गरेको हो। पक्राउ परेका दुबैलाई हिरासतमा राखी कारबाही अघि बढाइने प्रहरीले जनाएको छ।
बरामद सुनचाँदी भन्सार चोरी पैठारीमा कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।