कैलाली- कैलालीमा ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अर्का एक घाइते भएका छन्।
धनगढीबाट बझाङतर्फ जाँदै गरेको ना ४ ख ५०७४ नम्बरको ट्रक र डडेल्धुराबाट धनगढीतर्फ आउँदै गरेको से ६ प ६७९१ नम्बरको मोटरसाइकल जिल्लाको चुरे गाउँपालिका-३ सहजपुरमा सोमबार दिउँसो २ बजेतिर आपसमा ठोक्किँदा दुर्घटना भइ एक युवाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
मृत्यु हुनेमा मोटरसाइलको पछाडि सवार कैलालीको साडेपानीका २५ वर्षीय अर्जुन नेपाली रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। उपचारका लागि धनगढीस्थित सेती अञ्चल अस्पताल ल्याउने क्रममै उनको मृत्यु भएको जनाइएको छ।
दुर्घटनामा परी घाइते भएका साडेपानीकै २९ वर्षीय मोटरसाइकल चालक सुरेश नेपालीको अत्तरियास्थित पद्मा अस्पतामा उपचार भइरहेको छ।
ट्रक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान बढाएको जानकारी दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।