काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुले २५ वर्षपहिले गरेको कुरालाई अहिले नेत्रविक्रम चन्द विप्लवले नक्कल गर्न खोज्नु गलत भएको बताएका छन्।
पोखरामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष दाहालले आफैले स्कुलिङ गरेको व्यक्ति २५ वर्षपहिले फर्कन खोज्नु पार लाग्ने बाटो नभएको बताए।
‘जसरी विप्लव समूहले हतियार ल्याउने र विस्फोट गराएका विषय बाहिर आएका छन्, मैले त उहाँहरुलाई राम्रोसँग चिन्छु। मैले नै स्कुलिङ गरेको हो। मसँगै सबैभन्दा बढी बसेर विप्लवले सचिवको रुपमा काम गरेका हुन्,' उनले भने, 'हामीले २५ वर्षपहिले गरेको कुरालाई उहाँहरुले नक्कल गर्न खोज्नुभएको छ यो पार लाग्ने बाटो होइन।’
अध्यक्ष दाहालले भने, ‘पहिलेको र अहिलेको परिस्थितिमा गुणात्मक फेरबदल आएको भन्दै उनले थपे, 'फेरि प्रचण्डले गरेको जस्तै नक्कल गरेर म पनि प्रचण्ड हुन्छु भन्ने सोच्नु बिलकुल मनोगत हुन्छ। इतिहासले एउटा कालखण्डमा एउटा विचार र नेतृत्वलाई मात्र अगाडि ल्याउने गर्छ।’
सरकारले पृथकतावादतर्फ गएकोलाई पनि वार्ता, संवाद, सहमतिको माध्यमबाट समस्या समाधान गर्न पहल गरेको बताउँदै अध्यक्ष दाहालले विप्लवहरुले पनि वार्ता संवादबाट समस्या समाधान गर्दै मूलधारमा आएर आफ्ना विषय राख्न उपयुक्त हुने सुझाव दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।