काठमाडाैं- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मधेसलाई छुट्टै राज्यको माग गर्दै आन्दोलनमा रहेका सिके राउतसँगको सम्झौताले शंका उब्जेको बताएका छन्।
कोइरालाले सरकारले राउतसँग गरेको राजनीतिक सहमतिमा प्रयोग भएको शब्दले राष्ट्रिय स्वाधिनता र अखण्डतामा असर पुग्ने धारणा राखेका हुन्।
कोइरालाले विद्रोही समूहलाई संविधान र राज्यको मूलधारमा ल्याइनु उपयूक्त भएको बताएका छन्। ‘सहमतिको दोस्रो बूँदामा उल्लेखित 'जनअभिमत' (जनमत संग्रह) शब्द राष्ट्रिय स्वाधिनता एवम् अखण्डताको विपक्षमा देखिन्छ। यसलाई नेपाली जनता कुनै पनि हालतमा स्विकार गर्न सक्दैनन्’ कोइरालाले भने।
सरकार र राउतका बीच भएको सहमतिमा दूबै पक्षको नियतमा खोट देखिएको कोइरालाकाे तर्क छ। सहमतिपश्चात् राउतको समूहले जनकपुरमा गरेको गतिविधिले थप गम्भीर बनाएको उनले उल्लेख गरे।
‘सहमतिको मसी सूक्न नपाउँदै जनकपुरमा सिके राउत समूहको जुन परिदृश्य देखियो, त्यसले हामीलाई गम्भीर मात्रै बनाएको छैन, बरु हामीलाई झस्काएको समेत छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।