मुसालाई अंग्रेजीमा वाट्स भनिन्छ । मुसा ह्युमन पेपिलोमा भन्ने भाइरसबाट हुने खटिरा वा विविरा हो । यो बच्चादेखि वृद्धालाई समेत पनि आउन सक्छ । यसलाई समाजमा सामान्य रुपमा लिइन्छ । मानिसको सोच नै मुसा आफैं ठिक भएर जान्छ भन्ने छ । तर यो ४० प्रतिशत मात्र आफैं ठिक भएर जान्छ । ४० प्रतिशतमध्ये पनि कस्तो व्यक्तिमा ठिक हुन्छ भन्न गाह्रो छ । त्यसैले शरीरमा मुसा आएपछि तुरुन्तै उपचार गर्नुपर्छ ।
मुसाले शरीर भित्र कुनै हानी गर्दैन तर यो भाइरसबाट हुने भएकाले एक ठाँउबाट अर्को ठाँउमा सर्ने, संख्या र आकार दुवै बढेर जाने हुन्छ । तसर्थ हेर्दा नराम्रो देखिने मुुुसाबाट अरुमा सर्ने सम्भावना पनि बढी हुन्छ । आफ्नै शरीरमा पनि एक ठाँउबाट अर्को ठाँउमा सर्ने हुँदा यसको उपचार गर्नु उचित हुन्छ । मुसा भएको व्यक्तिको सामान अन्य व्यक्तिले प्रयोग गरेमा मुसा सर्ने संभावना बढी हुन्छ । तर सर्ने र नसर्ने भन्ने कुरा शरीरको प्रतिरोधात्मक क्षमतामा भर पर्छ । प्रतिरोधात्मक क्षमता बलियो छ भने त्यस्ता व्यक्तिमा मुसा सर्ने संभावना धेरै कम हुन्छ ।
शरीरमा मुसा देखियो भने सुरुमा औषधि लगाउनु पर्छ । औषधि लगाउदा एक महिनामा सुधार भयो भने त्यहि औषधि नै लगातार प्रयोग गरिन्छ । तर औषधिले काम गरेन भने यसलाई अन्य उपचार बिधिले हटाउने गरिन्छ ।
यदि शरीरमा धेरै मुसा भएमा र यी उपचार विधिबाट पनि हटाउन संभव नभएमा लेजर थेरापीबाट हटाउन सकिन्छ । साथै होमीयोप्याथिक औषधि पनि यो समस्यामा लाभदायक मानिन्छ । मुसा आएको सुरूकै अवस्थामा होमीयोप्याथिक औषधिको प्रयोगले मुसा आउन समेत रोक्न सकिन्छ । पैलता र हत्केलामा आउने मुसा खिलसँग मिल्दो जुल्दो हुन्छ । कतिपय व्यक्ति त पैतला र हत्केलामा आएको मुसालाई खिल भनेर झुक्किन्छन् । खिलमा किटाणु हुँदैनन् । त्यसैले खिल भनेर उपचार नगरी छाडेको मुसा बढेर जान्छ ।
मुसालाई कहिले पनि धारिलो हतियारले काट्नु हुँदैन । काट्दा मासुको भाग गएता पनि भाइरस जिवितै रहन्छ । यसो गर्दा मुसा फेरि दोहोरीएर आउन सक्छ । काट्दा मुसाबाट एक किसिमको पानी जस्तो चोप निस्कन्छ । त्यो चोप नै सर्ने माध्यम बन्न पुग्छ । तर मुसा रगतबाट भने सर्दैन । योनाङ्गमा आउने मुसा पनि हुन्छ । सामान्य मुसा भन्दा यो भिन्न प्रकारको हुन्छ । यसको उपचार अलि कठिन छ साथै यो धेरै सर्ने पनि हुन्छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।