काठमाडौं– नेपाल र मलेसियाबीच आगामी महिनाका लागि तय भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल स्थगित भएको छ।
नेपाल र मलेसियाबीच आगामी चैत १२ गते मलेसायको बुकिट जलिलमा मैत्रीपूर्ण खेल हुने तय भएको थियो। तर अन्तर्राष्ट्रिय फुटबल महसंघ (फिफा) को नियमअनुसार अन्तर्राष्ट्रिय विन्डोमा २ वटा भन्दा बढी खेल खेल्न पाइदैन। अन्तर्राष्ट्रिय विन्डो आगामी मार्च १८ देखि २८ सम्म छ। मलेसियाले यो बीचमा एयरमारिन कपमा ओमान र सिंगापुरविरुद्ध खेल्दैछ।
त्यसैले नेपालविरुद्धको तेस्रो खेल स्थगित गरिएको फुटबल एसोसिएसन अफ मलेसिया (फाम)ले जनाएको छ। फामले एसियन फुटबल महासंघ (एएफसी) र फिफासँगै नेपालविरुद्धको खेलका लागि अनुमती मागेको थियो। तर नेपालविरुद्धको खेल अन्तर्राष्ट्रिय विन्डोमा तेस्रो खेल हुने भएकाले त्यसलाई मान्यता दिन नमिल्ने जवाफ आएको फामका महासचिव स्टुवार्ट रामालिङ्गमले बनाएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) र फामले नयाँ मितिमा मैत्रीपूर्ण खेल खेल्न सहमति जनाएको महासचिव स्टुवार्टले जानकारी दिए।
मलेसियाले आफ्नो फिफा वरीयता बढाउनका लागि एकै विन्डोमा ३ खेल खेल्न लागेको थियो। फिफा वरीयतामा मलेसिया हाल १ सय ६७ स्थानमा छ भने नेपाल १ सय ६१ स्थानमा छ।
यसअघि नेपाली राष्ट्रिय फुटबल टिमले ५ दिन भित्र २ अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने तय भएको थियो। एन्फाले नेपालले आगामी महिना कुवेत र मलेसियासँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने जनाएको थियो।
नेपालले कुवेतसँग चैत ७ गते खेल्नेछ। खेल कुवेतमै हुने एन्फाले जनाएको छ। पाँच दिनपछि नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्ने खेल भने अब स्थगति भएको छ। नेपालका प्रशिक्षक योहान कलिनले मैत्रीपूर्ण खेलका लागि छिट्टै नै राष्ट्रिय टिम घोषणा गर्न बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।