सेन्ट किट्स– इंग्ल्यान्डविरुद्धको दोस्रो टी–२० खेलमा घरेलु टिम वेस्ट इन्डिज ४५ रनमै अलआउट भएको छ। यो टी–२० अन्तर्राष्ट्रिय खेलको दोस्रो कम योगफल हो।
टी–२० मा सबैभन्दा कम स्कोर नेदरल्यान्ड्सको ३९ र तेस्रो कम स्कोर नेपालको ५३ रन हो। नेदरल्यान्ड्स सन् २०१४ मा श्रीलंकासँग र नेपाल सन् २०१५ मा आयरल्यान्डसँग सस्तैमा अलआउट भएका थिए।
इंग्ल्यान्डले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याउने क्रममा ११.५ बलमा ४५ रनमै अलआउट भएपछि वेस्ट इन्डिज १ सय ३७ रनले पराजित भयो। लगातार दोस्रो जितसँगै तीन खेलको सिरिज इंग्ल्यान्डले १ खेलअघि जितेको छ।
वेस्ट इन्डिजका लागि सिमरोन हाटमेयर र कार्लोस बाथवेटले सबैभन्दा बढी १०–१० रन जोडे। अन्य ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ पेभिलियन फर्के।
वेस्ट इन्डिजको इनिङ ध्वस्त पार्ने क्रममा इंग्ल्यान्डका क्रिस जोर्डनले २ ओभरमा ४ विकेट लिए। त्यसक्रमा उनले ६ रन मात्र खर्चिए। डेभिड विली, अदिल रसिद र लियम प्लुङकेटले समान २–२ विकेट लिए।
त्यसअघि इंग्ल्यान्डले पहिले ब्याटिङ गरेर ६ विकेटको क्षतिमा १ सय ८२ रन जोड्यो। उसका लागि साम बिलिङ्ग्सले ४७ बलमा १० चौका र ३ छक्काको मद्दतमा ८७ रन जोडेका थिए। जोए रुटले रनआउट हुनुअघि ४० बलमा ७ चौकाको मद्दतमा ५५ रन बटुलेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।