राँची– भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले ४१औं एकदिवसीय शतक प्रहार गरेका छन्।
कोहलीले भारतको राँची भएको अस्ट्रेलियाविरुद्धको तेस्रो एकदिवसीय खेलमा शतक प्रहार गरेका हुन्। कोहलीले आउट हुनुअघि ९५ बलमा १ सय २३ रन जोडे। उनले १६ चौका र १ छक्का हिर्काए।
अस्ट्रेलियाले दिएको ३ सय १४ रनको लक्ष्य पछ्याउने क्रममा कोहलीले शतक हिर्काएपनि भारत ३२ रनले पराजित भयो। कोहली बाहेक अन्य ब्याट्सम्यान सस्तैमा आउट हुँदा भारत २ सय ८१ रनमै अलआउट भयो। बलिङमा अस्ट्रेलियाका पाट कमिङ्ग्स, जे रिचार्डसन र एडम जाम्पाले ३–३ विकेट लिएका थिए।
त्यसअघि अस्ट्रेलियाले ५० ओभरमा ५ विकेटकव क्षतिमा ३ सय १३ रन जोडेको थियो। उसका लागि उस्मान खवाजाले १ सय ३ रन र ओपनर तथा कप्तान आरोन फिन्चले ९३ रनको योगदान दिएका थिए।
तेस्रो खेलमा जित हात पारेसँगै ५ खेलको सिरिजमा अस्ट्रेलियाले २–१ को अग्रता लियो।
कोहलीले दोस्रो एकदिवसीय खेलमा पनि शतक हिर्काएका थिए। उनले नागपुरमा भएको खेलमा १२० बलमा ११६ रन जोडेका थिए।
कोहलीको समग्रमा ६६औं शतक प्रहार गरिसकेका छन्। उनले टेस्ट क्रिकेटमा २५ शतक प्रहार गरेका छन्। कोहली अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक शतक बनाउने खेलाडीको तेस्रो स्थानमा छन्।
अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी शतक प्रहार गर्ने खेलाडी सचिन तेन्दुल्करले १०० शतक बनाएका थिए। दोस्रो स्थानमा रहेका अस्ट्रेलियाका रिकी पोन्टिङले ७१ शतक बनाएका थिए।
मंगलबार बनाएको शतकसँगै विराटले सचिनको रेकर्ड तोडेका थिए। विराट सबैभन्दा कम इनिङमा ४० एकदिवसीय शतक बनाउने खेलाडी बने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।