एजेन्सी– स्टार खेलाडी लिओनल मेसी विश्वकप फुटबल प्रतियोगिता २०१८ पछि पहिलो पटक अर्जेन्टिनाको राष्ट्रिय टिममा फर्किएका छन्।
स्पेनिस क्लब बार्सिलोनाका ३१ वर्षीय फरवार्ड मेसीले विश्वकपपछि ६ अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सहभागिता जनाएका थिएनन्। गत जुनमा रसियामा भएको विश्वकपको अन्तिम १६ मा फ्रान्ससँग पराजित भएपछि मेसीले राष्ट्रिय टिमका लागि खेलेका थिएनन्।
मेसीले यहि महिना भेनेजुएला र मोरक्को विरुद्धको मैत्रीपूर्ण खेलमा सहभागिता जनाउनेछन्। जसका लागि ३१ सदस्यीय प्रारम्भिक टिम घोषणा गरिएको छ।
मेसीसँगै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनका मिडफिल्डर एन्जेल डि मारिया पनि टिममा बोलाइएका छन्। उनले पनि विश्वकप पछि राष्ट्रिय टिमबाट खेलेका थिएनन्।
टिममा म्यानचेस्टर सिटीका सेन्टर ब्याक निकोलास ओटामेन्डी, टोटनह्यामका डिफेन्डर जुवान फोयथ, वाटफोर्डका मिडफिल्उडर रोबर्टो पेरेत्रा र वेस्ट ह्यामका प्लेमेकर म्यानुयल लान्जिनी पनि छन्।
यद्यपी टोटनह्यामका विंगर इरिक लमेला र गोलकिपर पाउलो गाजानियागा टिममा परेका छैनन्। यस्तै इन्टर मिलानका स्ट्राइकर माउरो इकार्डी पनि टिममा छैनन्। म्यानचेस्टर सिटीका सर्जियो अग्युरो र चेल्सीका गोन्जालो हिग्युइन पनि टिममा सामावेश छैनन्।
अर्जेन्टिनाका कप्तान मेसीले देशका लागि अहिलेसम्म १ सय २८ खेलमा ६५ गोल गरिसकेका छन्। सन् २०१६ को जुनमा कोपा अमेरिकाको फाइनलमा चिलीसँग पराजित भएपछि उनले संन्यासको घोषणा गरेका थिए। तर समर्थकको अग्रहपछि मेसीले २ महिनापछि संन्यास फिर्ता गरेका थिए।
पाँच पटकका बालोन डि'अर विजेता मेसीले अहिलेसम्म राष्ट्रिय टिमबाट १ उपाधि मात्र जितेका छन्। सन् २००८ को बेइजिङ ओलम्पिकमा स्वर्ण जितेको अर्जेन्टिनाले त्यसपछि तीन पटक कोपा अमेरिका र २०१४ को विश्वकपको फाइनलमा पुगेर पनि उपाधि जित्न असफल भएको थियो।
अर्जेन्टिनाले भेनेजुएलाविरुद्ध आगामी २३ मार्चमा र मोरक्को विरुद्ध २६ मार्चमा खेल्नेछ।
कोपा अमेरिका फुटबल प्रतियोगिता आगामी १४ जुन देखि ७ जुलाइसँग ब्राजिलमा हुँदैछ। जहाँ अर्जेन्टिना समूह बीमा छ। समूहमा अर्जेन्टिनासँगै कोलम्बिया, पाराग्वे र एसियन च्याम्पियन कतार छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।