कविता : नझुक्किनुहोला!

बाबु त्रिपाठी

Nepal Live

डान्सबारजस्तो भयो देश पनि
जहाँ नझुक्किने कोही छैनन्

जसरी सिमाना
हाम्रा दिदीबहिनी र भाउजूहरूलाई झुक्याउँछ
उसैगरी गड्डाचौकीलाई झुक्याउँछ
यो देशको अनागरिक

पख्नोस्
झुक्याउने शृंखला यत्तिकैमा रोकिनेछैन

छिचोल्दै
भीर, पाखा, नदी र घुम्तीहरू
तपाईं आइपुग्नुभएको छ भने कलंकी
अब तपाईंलाई ट्याक्सीको मिटरले झुक्याउँछ

बास खोज्दै जानुभो भने यो सहरको लजतिर
अब तपाईंलाई लजले पनि झुक्याउँछ
अघि नै भात खाने ठाउँमा तपाईं झुक्किसक्नु भो

हिँड्दै–हिँड्दै आइपुग्नुभो भने

– रानीपोखरीतिर
– रत्नपार्कतिर
– टुँडिखेलतिर

रोजगारीले झुक्याएका अनुहारहरू भेट्नुहुनेछ
अब तपाईंलाई रोजगारीले पनि झुक्याउनेछ

झोलामा बोक्नुभएको छ भने पासपोर्ट
देखाएर अमेरिकाको झन्डा 
अब तपाईंलाई म्यानपावर कम्पनीले झुक्याउँछ

पख्नोस्
झुक्याउने शृंखला यत्तिकैमा रोकिनेछैन

यदि दलालले खोजिदिएको छ भने कतै डेरा
– बिजुलीको बिल
– पानीको बिल
– ढलको बिल
– फोहरको बिल 

बिलैबिल देखाएर अब यो सहरको घरबेटीले झुक्याउँछ

सपनाका कलिला बेर्नाहरू सारेर
तपाईं यो सहरमा निदाउनै पाउनुहुन्न
यो सहरमा निरन्तर तपाईं लुटिइरहनुहुनेछ
जब ठूलो चोटमा पर्नुहुनेछ तपाईं
जब ठूलो पीडामा पर्नुहुनेछ तपाईं
तपाईंलाई तपाईंकै आँखाले झुक्याउनेछ

पख्नोस्
झुक्याउने शृंखला यत्तिकैमा रोकिनछैन

पहिर्‍याएर शीतलहरको माला– घामले झुक्याउँछ
माटोलाई झुक्याउँछ– बादल
किसानलाई झुक्याउँछ– उसैको पसिना
ग्राहकलाई झुक्याउँछ– व्यापारी

नझुक्किनुहोला!
गौशाला चोकदेखि अलिक पर्तिर
असली आरन थापेर बसेको छ–आर्यघाट।

प्राप्त प्रतिकृयाहरू

पढ्नै पर्ने