काठमाडौँ– नेपाली काँग्रेसले संगठन सुदृढीकरण, प्रशिक्षण व्यवस्था र आगामी निर्वाचन तयारीलाई केन्द्रमा राख्दै विभिन्न विषयगत संरचना गठन गरेको छ ।
पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले कार्यकर्ता प्रशिक्षण, निर्वाचन तयारी तथा संगठनात्मक समन्वयलाई व्यवस्थित गर्न अलग-अलग संयन्त्र स्थापना गर्ने निर्णय गरेको हो ।
निर्णयअनुसार पार्टीका उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा नीति तथा अनुसन्धान प्रतिष्ठान गठन गरिएको छ । उक्त संरचनाले पार्टी कार्यकर्ताको क्षमता अभिवृद्धि तथा नेतृत्व विकाससम्बन्धी तालिम र कार्यक्रम सञ्चालन गर्ने जिम्मेवारी पाएको छ ।
त्यसैगरी, निर्वाचन व्यवस्थापनलाई दीर्घकालीन र प्रभावकारी बनाउन उपसभापति पुष्पा भुसालको संयोजकत्वमा निर्वाचन ब्युरो गठन गरिएको छ ।
संगठनात्मक समन्वयलाई प्रभावकारी बनाउन केन्द्रीय तहमा छुट्टै संयन्त्र पनि गठन गरिएको छ । यो संयन्त्रको नेतृत्व महामन्त्री गुरुराज घिमिरेले गर्नेछन् भने सहमहामन्त्री बहादुर सिंह लामा र मुकुन्द यादव सदस्य रहने व्यवस्था गरिएको छ ।
यसैबीच, पार्टीको आसन्न महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील सदस्यता व्यवस्थापन तथा अद्यावधिक प्रक्रियालाई व्यवस्थित बनाउन अर्को समिति गठन गरिएको छ । सो समितिको संयोजक जिम्मेवारी महामन्त्री प्रदीप पौडेललाई दिइएको छ भने सहमहामन्त्री योगेन्द्र चौधरी र प्रकाश स्नेही सदस्यका रूपमा रहनेछन् । यो समितिले १५औँ महाधिवेशनका लागि सदस्यता व्यवस्थापनसम्बन्धी सम्पूर्ण कार्य सञ्चालन गर्नेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।