काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टिमले ५ दिन भित्र २ अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार नेपालले आगामी महिना कुवेत र मलेसियासँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको हो।
नेपालले पहिलो मैत्रीपूर्ण खेल कुवेतसँग चैत ७ गते खेल्नेछ। खेल कुवेतमा हुने एन्फाले जनाएको छ। पाँच दिनपछि नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्नेछ। मलेसिया र नेपालबीच चैत १२ गते मलेसियामा भिडन्त हुनेछ। नेपालले कुवेतसँग पाँचौ र मलेसियासँग सातौं पटक प्रतिस्पर्धा गर्न लागेको हो।
नेपालका प्रशिक्षक योहान कलिनले मैत्रीपूर्ण खेलका लागि छिट्टै नै राष्ट्रिय टिम घोषणा गर्ने बताएका छन्। 'यो मेरो पहिलो परीक्षा हुनेछ। दुई मैत्रीपूर्ण खेल मेरो र टिमका लागि अनुभव हुनेछ। नेपालका युवा खेलाडी एएफसी यू–२३ च्याम्पियनसिप खेल्ने भएकाले केहि नयाँ अनुहार टिममा हुनेछन्। यो हाम्रो लागि टेस्ट हुनेछ भने खेल कठिन हुने अनुमान गर्न सकिन्छ,' उनले भनेका छन्।
स्विडिस प्रशिक्षक कलिनलाई किरण श्रेष्ठले सहायक प्रशिक्षकको भूमिकामा रहेर सहयोग गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।