पेरिस– इन्जुरी टाइममा भिडियो एसिस्टेन्ट रेफ्रीमार्फत प्राप्त पेनाल्टीमा गोल गर्दै इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) विरुद्ध युनाइटेडका लागि दोस्रो हाफको इन्जुरी टाइमको चौथो मिनेटमा मार्कोस रास्फोडले पेनाल्टीमा गोल गरेका थिए। सोहि गोल उसलाई अन्तिम आठमा पुग्न पर्याप्त बन्यो।
खेलमा युनाइटेड ३–१ ले विजयी भयो। यसअघि पहिलो लेगमा पिएसजीले २–० को जित निकालेको थियो। जसका कारण समग्रमा खेल ३–३ मा सकियो। यद्यपी पिएसजीको मैदानमा ३ गोल गरेको फाइदा उठाउदै युनाइटेड अवे गोलको आधारमा अन्तिम आठमा पुग्यो।
बुधबार युनाइटेडका लागि लुकाकुले २ र ३० मिनेटमा गोल गरेका थिए। त्यसअघि पिएसजीका बर्नाटले १२ मिनेटमा बराबरी गोल फर्काएका थिए। इन्जुरी टाइममा रास्फोडको पेनाल्टी गोलसँगै युनाइटेड अवे गोलको फाइदा उठाएर अन्तिम आठमा पुगेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।