काठमाडौं– सन् २०२२ मा चीनको हान्जोमा हुने एसियन गेम्समा क्रिकेट पनि समावेश हुने भएको छ। ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) को बैठकले क्रिकेटलाई एसियन गेम्समा पुन: थप्ने निर्णय गरेको हो।
यसअघि सन् २०१० मा चीनको गोन्झाउ र २०१४ मा दक्षिण कोरियाको इन्चोनमा भएको एसियन गेम्समा क्रिकेटको प्रतिस्पर्धा समावेश थियो। दुवै संस्करणमा महिला तथा पुरुष इभेन्टका खेल भएका थिए। यद्यपी गत वर्ष इन्डोनेसियामा भएको एसियन गेम्समा क्रिकेट समावेश थिएन।
नेपालले सन् २०१० र २०१४ का दुवै संस्करणमा क्रिकेटमा भाग लिएको थियो। दुवै संस्करणमा टी–२० फर्म्याटमा प्रतिस्पर्धा भएको थियो। टेस्ट टिमहरु भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाले पहिलो रोजाइको टिम पठाएका थिएनन्। नेपालको भने पहिलो रोजाइकै टिमले खेलेको थियो।
३ वर्षपछि चीनमा हुने एसियन गेम्समा क्रिकेटलाई थप्ने निर्णय बैंककमा बसेको ओसिएको साधारणसभाले गरेको हो।
यता आगामी डिसेम्बरमा नेपालमा हुने दक्षिण एसियन गेम्समा पनि पहिलो पटक क्रिकेटलाई समावेश गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।