काठमाडौं– पाकिस्तान सुपर लिग (पिएसएल) मा नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने आबद्ध लाहोर क्वालन्डर्सले आफ्नो आठौं खेलमा पराजित भएको छ।
लाहोरलाई मंगलबार साँझ पेसावर जल्मीले ४ विकेटले पराजित गरेको हो। लाहोरले दिएको १ सय २५ रनको लक्ष्य पेसावरले अन्तिम बल बाँकी छदा ६ विकेटको क्षतिमा पार गर्यो। उसका लागि मिस्वाह उलहकले ५९ र डारेन सामीले ४६ रन जोड्यो। त्यअसघि पेसावारले ७ ओभरमा २० रन जोड्दा सुरुवाती ५ विकेट गुमाएको थियो। तर उलहक र सामीको जोडी जमेपछि पेसावरले जित निकाल्यो। जितसँगै पेसावर ९ खेलबाट १२ अंक जोड्दै प्लेअफमा पुगेको छ।
त्यसअघि लाहोरले २० ओभरमा ७ विकेट गुमाएर १ सय २४ रन जोड्यो। उसका लागि हरिस सोहिलले सबैभन्दा बढी ४३ रन जोडे।
खेलमा सन्दीपले विकेट लिन सकेनन्। आफ्नो पहिलो ओभरमा ३ रन खर्चिएका सन्दीपले दोस्रो ओभरमा २ छक्कासहित १८ रन खर्चिएका थिए। पहिलो २ ओभरमै १८ रन खर्चिएपछि सन्दीपले बाँकी ओभरमा बलिङ पाएनन्। यद्यपी अन्तिम ओभरको चौथो बलमा लाहोरका बलर रायन टेन डाकास्टे घाइते भएपछि सन्दीपले पाँचौ बल बलिङ गरे। सो बलमा पेसावरका वाहेव रियाजले १ रन लिँदै टिमलाई विजयी बनाए।
सन्दीपले यसअघिका चार खेलमा लगातार विकेट लिने क्रममा १० विकेट लिएका थिए।
यसअघिका लाहोरले ३ खेलमा जित निकालेको थियो। ६ अंक जोडेर अंक तालिकाको पाँचौ स्थानमा रहेको लोहोरका लागि प्लेअफमा पुग्न अब बाँकी खेल जित्नै पर्ने दबाब छ। सुरुवाती खेलमा कप्तानी गरेका एबी डिभिलियर्स चोटका कारण स्वदेश फर्किएपछि लाहोर थप दबाबमा छ।
लिगका बाँकी खेल पकिस्तानमा हुनेछ। यसअघिका खेल युएईमा भएका थिए। लाहोरले नवौं खेल खेल इस्लामावाद युनाटेडसँग र दशौं खेल मुल्तान सुल्तानसँग खेल्नेछन्। दुवै खेल कराचीमा हुनेछन्। पिएसएलको फाइनल पनि आगामी १७ मार्चमा कराचीमै हुने तय छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।