काठमाडौं– तेह्रौँ दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगिता आगामी मंसिर महिनामा हुने भएको छ। नेपाल ओलम्पिक कमिटीले आज पत्रकार सम्मेलन गर्दै १३औँ साग आगामी डिसेम्बर १ देखि १० तारिख (आगामी मंसिर १५ देखि २४)सम्म काठमाडौंमा आयोजना हुने जानकारी दिएको हो।
थाइल्याण्डको बैंककमा आइतबार बसेको दक्षिण एशियाली ओलम्पिक कमिटीको बैठकले सागको नयाँ मिति तय गरेको कमिटीका अध्यक्षसमेत रहेका नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले जानकारी दिए। सन् २०१९ को मार्चमा आयोजना गर्ने तय भएको प्रतियोगिता पूर्वाधार निर्माणको कारण डिसेम्बरमा सारिएको हो।
यसअघि मार्च ९ देखि १८ सम्म आयोजना गर्ने तालिका रहेको थियो । “प्रतियोगिता सार्न सबै सदस्य राष्ट्रहरुको सहमति आवश्यक पर्ने भएकाले हामीले बैंककमा आइतबार बसेर यसबारे सहमति जुटाएका हौँ,” अध्यक्ष श्रेष्ठले भने।
विसं २०७२ को भूकम्पका कारण क्षतिग्रस्त बनेको दशरथ रङ्गशालालगायत महत्वपूर्ण खेलकूदका पूर्वाधार पुनः निर्माणको काम नसकिएकाले प्रतियोगिता सार्न युवा तथा खेलकूद मन्त्रालयले नेपाल अेलम्पिक कमिटीलाई पत्र पठाएपछि प्रतियोगिताको नयाँ मिति तय गरिएको हो। सो अवसरमा सागमा २९ खेल समावेश गरिने जानकारी दिइयो। यस पटकको साग खेलकूद १० दिनमा सकिनेछ। अघिल्ला संस्करणको साग १२ दिनको हुने गर्दथ्यो। भारतको गुवाहाटीमा सन् २०१६ मा सम्पन्न १२औँ सागमा नेपालले १३औँ संस्करण आयोजना गर्ने वाचासहित झण्डा लिएर आएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।