काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टाेलीका कप्तान पारस खड्कासहित ४ खेलाडीलाई पछि पार्दै युवा क्रिकेटर सन्दीप लामिछानेले वर्ष खेलाडीकाे उपाधि हात पारेका छन्।
नेपालका क्रिकेट खेलाडीहरुको संस्था क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान)ले मंगलबार प्रदान गरेकाे एनसिसिएस-सिप्यान क्रिकेट अवार्डको पुरुषतर्फ लामिछाने उत्कृष्ट खेलाडी घाेषित भएका हुन्। साे विधामा लामिछानेसहित कप्तान खड्का, दीपेन्द्रसिंह ऐरी, करण केसी र सोमपाल कामी थिए।
सन्दीप पाकिस्तान सुपर लिगका लागि युएईमा रहेकाले उनको अनुपस्थितिमा कप्तान पारस खड्काले पुरस्कार ग्रहण गरिदिएका थिए।
महिलातर्फ भने सीता रानामगर उत्कृष्ट घाेषित भइन्। उनले इन्दु बर्मा, करुणा भण्डारी, रुबिना क्षेत्री बेलबासी र सरिता मगरलाई पछि पारेकी हुन्।
इमर्जिङ खेलाडीको मनोनयनमा परेका अभिनास बोहरा, कविता कुँवर, ललितनारायण राजवंशी, रोहितकुमार पौडेल र सन्दीप जोरामध्येमा पाैडेल उत्कृष्ट घाेषित भए।

'वर्षको उत्कृष्ट क्षण' विधामा करण केसीले डिभिजन–२ मा क्यानडाविरुद्ध खेलेको इनिङलाई उत्कृष्ट ठहर्याइयाे। केसीले साे खेलमा अविजित ४२ रन बनाएका थिए। यस विधामा दीपेन्द्रसिंह ऐरीले एकदिवसीय विश्वकप छनोटमा पपुवा न्युगिनीविरुद्ध खेलेको इनिङ, ज्ञानेन्द्र मल्लले युएईविरुद्ध लिएको क्याच, नेपाली महिला टिम थाइल्यान्डको टी–२० स्म्यासमा फाइनल गुगेकाे क्षण र पारस खड्काले युएईविरुद्ध बनाएको शतक मनाेनयनमा परेका थिए।
यस्तै, रोहितकुमार पौडेलले युएईविरुद्ध बनाएको अर्धशतक, रुबिना क्षेत्रीले इन्डोनेसियाविरुद्ध गरेको बलिङ, सन्दीप लामिछानले विश्वभरका टी–२० खेलमा जनाएको सहभागिता, सोमपाल कामीले युएईविरुद्ध लिएको ५ विकेट र सन्दीप जोराले युएईविरुद्धको टी–२० खेलमा बनाएको अर्धशतक पनि उत्कृष्ट क्षणमा समेटिएका थिए। उत्कृष्ट क्षणको विजेता अनलाइन भोटिङको आधारमा घोषणा भएकाे हाे।

यस्तै लाइफटाइम अचिभमेन्ट अवार्डबाट पूर्वक्रिकेटर काेमल पाण्डेलाई सम्मान गरिएकाे छ।
वर्षको उत्कृष्ट खेलाडी पुरुषले १ लाख ३२ हजार रुपैयाँ पाउँदा अन्य चार विधाका विजेताले भने जनही ६६ हजार रुपैयाँ प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।