काठमाडौं- राष्ट्रिय सुरक्षा नीति परिमार्जनका लागि गठित समितिले ‘परिमार्जित राष्ट्रिय सुरक्षा नीति–२०७५’ प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ।
राष्ट्रिय सुरक्षा नीति परिमार्जनका लागि गठित समितिका संयोजक उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले ‘परिमार्जित राष्ट्रिय सुरक्षा नीति–२०७५’ प्रधानमन्त्री ओलीलाई बुझाएका हुन्।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार अपराह्न बुझाइएको सो परिमार्जित राष्ट्रिय सुरक्षा नीतिमा राष्ट्रिय सुरक्षाका पछिल्ला चुनौती र त्यसलाई सम्बोधन गर्न आवश्यक नीतिका बारेमा आवश्यक सुझाव उल्लेख गरिएको समितिका संयोजक एवम् उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पोखरेलले जानकारी दिए।
'परिमार्जित सो नीतिमा राष्ट्रिय सुरक्षा नीतिका मार्गनिर्देशनका बारेमा पनि विस्तृत सुझाव दिइएको छ,' उपप्रधानमन्त्री पोखरेलले भने।
सरकारले राष्ट्रिय तथा अन्तराष्ट्रिय परिस्थितिलाई समेत ध्यानमा राखेर राष्ट्रिय सुरक्षा नीति परिमार्जनका लागि आवश्यक सुझाव दिन उपप्रधानमन्त्री पोखरेल संयोजक रहेको एक समिति गत असोज १ गते गठन गरेको थियो ।
२०७३ सालमा बनेको राष्ट्रिय सुरक्षा नीतिलाई समायानुकूल बनाउन प्रधानमन्त्री ओलीले सो नीतिलाई परिमार्जन गर्न लागिएको हो।
उपप्रधानमन्त्री पोखरेल नेतृत्वको समितिले तयार पारेको परिमार्जित सो सुरक्षा नीतिमा सुरक्षासम्बन्धि राष्ट्रिय दृष्टिकोण पनि समावेश गरिएको छ।
सो परिमार्जित नीति मुलुकको राष्ट्रिय सुरक्षालाई सुदृढ, सहज र गतिशील बनाउने उद्देश्यका साथ तयार पारिएको पनि दाबी गरिएको छ।
समितिले प्रधानमन्त्री ओलीलाई बुझाएको सो परिमार्जित नीति राष्ट्रिय सुरक्षा परिषदले अनुमोदन गरेपछि मन्त्रीपरिषदबाट पारित हुने र कार्यान्वयनमा जानेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।