सोल, दक्षिण कोरिया- कोरियामा कार्यरत नेपाली कामदारले कोरियामा नै परिवारका सदस्य भेट्न पाउने भनिएपनि कार्यान्वयन हुन सकेको छैन।
रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत् कोरिया आउने कामदारले परिवारका सदस्यलाई कोरियामा नै बोलाएर भेट्न सकिने बताइएको थियो। तर, तयारी सकिएको भनिएको एक वर्ष बित्न लाग्दा समेत सो व्यवस्था कार्यान्वयनमा आउन सकेको छैन।
गत साउनमा श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले नेपालका लागि कोरियाली राजदूत पार्क योङसिकसँग भेट गरी उक्त नीति लागू गरिदिन अनुरोध गरेका थिए।
जवाफमा राजदूतले प्रक्रिया सुरु हुने संकेत गरेका थिए। कोरियाका लागि श्रम सहचारी डिल्लीराम बाँस्तोलाले उक्त नीति लागू नभएको स्पष्ट पारे। बाँस्तोला भन्छन्, ‘कामदारलाई दिइने भिसा ई-९ मा कामदारले परिवारका सदस्य ल्याउन पाउने व्यवस्था कोरियाको कानुनमा छैन।
कानुन नै परिमार्जन गर्नुपर्ने कोरियाको श्रम मन्त्रालयका अधिकारिक जवाफ आएको छ,’ उनले थपे, ‘त्यसका लागि यहाँको न्याय मन्त्रालयमा अनुरोध गर्नुपर्ने हुन्छ। दूतावासका तर्फबाट न्याय मन्त्रालय समक्ष अनुरोध अहिलेसम्म गरिएको छैन।’
बाँस्तोलाले नेपालबाट श्रम मन्त्रालयले सिधै आफ्नै तरिकाले प्रक्रिया अघि बढाएको भए जानकारी नभएको बताए।
रोजगारदाता कम्पनीले कामदारका परिवारलाई पर्यटक भिसामा झिकाउन भने सक्नेछन्। बास्तोलाले भने, ‘ईन्भाइटेसन लेटर र ग्यारेन्टी लेटर बनाईदिएको खण्डमा पर्यटक भिषामा तीन महिनाको लागि ल्याउन सक्छन्।’ त्यसरी आउने परिवारको सदस्य फर्कने सुनिश्चितता भने कार्यरत कम्पनीले गर्नुपर्नेछ।
नेपाली श्रमिकहरुमा डिप्रेसनको समस्या बढ्दै गएपछि दूतावासले परिवारका सदस्य भेट्न प्रबन्ध गर्ने पहल गरेको थियो। कतिपय मृत्युमा पारिवारिक तनावका कारण देखिएकाले परिवारका सदस्य भेटाउन नेपाली पक्षको प्रयास रहेको थियो।
श्रम मन्त्रालयले कोरियास्थित न्याय मन्त्रालय समक्ष नयाँ व्यवस्था लागू गर्न अनुरोध गर्न दूतावासलाई परिपत्र गरेको थियो। श्रम मन्त्रालयको सुझावलाई अहिलेसम्म न्याय मन्त्रालयसमक्ष दूतावासले अनुरोध गरेको छैन।
कामदारका आफन्त भेट गराउने नेपाली पक्षको कमजोर तयारीले गर्दा उक्त प्रयासले सार्थकता पाउन सकेको छैन।
केही कामदारका परिवार सदस्यहरु कोरिया गएर फर्केका छन्। कोरियामा आफन्तलाई बोलाउन कामदार र रोजगारदाताको प्रयासले भएको थियो।
दुई देशबीच औपचारिक सम्झौता नभएपनि केहीले भने व्यक्तिगत तबरले आफन्त बोलाउने गरेका छन्। रोजगारदाताले जिम्मेवारी लिएर आफन्त भित्र्याउने प्रक्रिया पहिलेदेखि नै चल्दै आएको बाँस्तोलाको स्पष्ट पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।