पोखरा- प्याराग्लाइडिङ दुर्घटनामा परेर सोमबार दुईजना विदेशी पाइलट घाइते भएका छन्। अनुमति लिएको भन्दा फरक ठाउँबाट उडान गरेका उनीहरु दुर्घटनामा परेका हुन्। दुर्घटनामा परेका मध्ये एकजनाको अवस्था गम्भीर छ भने अर्का एकजना सामान्य छन्।
प्रहरीका अनुसार माछापुच्छ्रे गाउँपालिका–९ ठाँटीमा पोर्चुगलका एकजना विदेशी प्याराग्लाइडिङ दुर्घटनामा परेका हुन्। ती विदेशीको अहिलेसम्म नाम खुलेको छैन। स्थानीय राम गुरुङका अनुसार विद्युत तारमा अड्केका ती पाइलटलाइ करेन्ट लाग्दा भुईमा पछारिन पुगेका थिए।
गुरुङका अनुसार ती विदेशीको बायाँ हात जलेको छ।
‘एकाएक विद्युतको तारमा छोएर भुईमा बजारिए। अनि गाउँलेले उद्धार गरेर प्रहरीलाई जिम्मा लगाएका छौ,’ गुरुङले भने।
उनका अनुसार ती सहित २० जना जति विदेशी मर्दी हिमाल पदयात्राको हाईक्याम्पबाट उडेका थिए। फरक फरक ठाउँमा विदेशी अवतरण गरेका थिए। दुर्घटनामा परेको थाहा पाए लगत्तै ती विदेशीका अर्का एकजना साथी पनि ठाँटीमै ओर्लेको उनले बताए।
आइतबार पनि पोखरामा प्याराग्लाइडिङ दुर्घटनामा परी एक जना रोमानियाका नागरिकको मृत्यु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।