जनकपुर- सुनसहित पक्राउ परेका वडाध्यक्ष सहित ६ जना जेल चलान भएका छन्।
एक किलो ७ सय ५७ ग्राम सुनसहित पक्राउ परेका सिरहाको लहान नगरपालिका वडा नं. १९ का वडाध्यक्ष हकिम मियाँसहित ६ जना जेल चलान भएका हुन्।
राजस्व चुहावट र विदेशी विनिमय अपचलनको मुद्दामा जिल्ला अदालत सिरहाको आदेशमा शुक्रबार उनीहरु पुर्पक्षका लागि सिरहा कारागार चलान गरिएको हो।
जिल्ला अदालत सिरहाका श्रेस्तेदार नरेन्द्र श्रेष्ठका अनुसार न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले वडाध्यक्ष मियाँ र उनीसंगै पक्राउ परेका मोहम्मद रहमान, मोहम्मद अफरोज, मोहम्मद अमिरुल, मोहम्मद कैयुम र मोहम्मद रियाजलाई पुर्पक्षका लागि सिरहा कारागार पठाइएको हो।
गत पुस २४ गते सशस्त्र प्रहरीको टोलीले पूर्व–पश्चिम राजमार्गको गोलबजार नगरपालिका–९ घुर्मी पुलबाट एक किलो ७ सय ५७ ग्राम अवैध सुनसहित वडाध्यक्ष हकिम मियाँलगायत ६ जनालाई पक्राउ गरेको थियो।
कतारबाट लुकाईछिपाई ल्याइएको सुन लिएर 'बिआर ३२ पिए ४६४४' नम्बरको स्कोर्पियो जिप लहानतर्फ आउँदै गरेको सूचना प्राप्त भएपछि घुर्मी खोलामा आइपुग्दा सशस्त्र प्रहरीको विशेष टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो।
पक्राउ परेका ६ जनालाई सुनसहित कारबाहीका लागि पूर्वक्षेत्रीय राजस्व अनुसन्धान कार्यालय इटहरी पठाइएको थियो।
उनीहरुमाथि राजस्व चुहावट र विदेशी विनिमय अपचलन मुद्दामा कारबाहीका लागि जिल्ला अदालत सिरहा पठाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।