काठमाडौं- रानीपोखरीको पुनःनिर्माण सुरु भएको छ। राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले उपभोक्ता समितिमार्फत रानीपोखरी पुनःनिर्माण सुरु गरिएको जानकारी दिए।
परम्परागत शैली र प्रविधिमै निर्माण सामग्री प्रयोग गरेर मल्लकालीन शैलीमा उक्त पोखरी पुनःनिर्माण हुने उनको भनाइ छ।
पुनःनिर्माण उपभोक्ता समितिका अध्यक्ष अजय स्थापितले प्राधिकरणले निर्धारण गरेकै मापदण्डअनुसार पुनःनिर्माण सुरु गरिएको बताए।
उनले पुनःनिर्माणमा अहिले ४० कालिगड खटिएका र आवश्यकता अनुसार तिनको सङ्ख्या बढाइने जानकारी दिए।
पुनःनिर्माण प्राधिकरणले रानीपोखरी लगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचना व्यवस्थित तथा समन्वयात्मक ढङ्गले गर्न प्राधिकरणका कार्यकारी सदस्य डा चन्द्रबहादुर श्रेष्ठको संयोजकत्वमा रानीपोखरी पुनःनिर्माण अनुगमन तथा समन्वय समिति गठन गरेको छ।
मन्त्रिपरिषद्को गत माघ १४ को बैठकले रानीपोखरी र बालगोपालेश्वर मन्दिर लगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचना पुनःनिर्माण गर्न उक्त प्राधिकरणलाई जिम्मेवारी दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।