सुर्खेत- विस २०७५ बैखाख १ गते भएको रारा पर्यटन वर्षको उद्धाटन कार्यक्रममा तोकिएको भन्दा दोब्बर बढी रकम खर्च भएको खुलेको छ। कर्णाली प्रदेशसभा अन्तर्गत कर्णाली रारा पर्यटन वर्ष समुद्धाटन कार्यक्रममा सरकारले गरेको खर्चको अध्ययन गर्न गठित संसदीय समिति अन्तर्गतको उपसमितिले तोकिएको भन्दा दोब्बर रकम सो कार्यक्रममा खर्च भएको सर्वसम्मत निष्कर्ष निकालेको हो।
उद्घाटन कार्यक्रमका लागि विभिन्न मन्त्रालयलाई ४६ लाख खर्च गर्न अख्तियारी दिएकोमा सो भन्दा दोब्बर रकम खर्च भएको उपसमितिको निष्कर्ष छ। 'कार्यक्रममा सार्वजनिक खरिद ऐनअन्तर्गत रकम खर्च भएको नपाइएको हुँदा सम्पूर्ण रकम पूर्णत अनियमितता भएको देखिन्छ,' उपसमितिको प्रतिवेदनमा उल्लेख छ।
सरकारले सदनमा गराएको जानकारीमा ४९ लाख ४१ हजार मात्र देखिनु तर मन्त्रालयहरूले उपसमितिलाई बुझाएको विवरणमा भने ७८ लाख १४ हजार रकम देखिनुले कार्यक्रममा व्यापक अनियमितता भएको देखिएको उपसमितिले सर्वसम्मत ठहर गरेको हो। यसका साथै महालेखा परीक्षकलाई विभिन्न मितिमा बुझाइएको विवरणमा नै तथ्यांक फरक परेकाले समेत कार्यक्रममा अनियमितता भएको उपसमितिको ठहर छ।
प्रदेश सरकारले पर्यटन क्षेत्र विस्तारका लागि भन्दै गत बैशाखमा पर्यटन वर्ष घोषणा कार्यक्रम उद्घाटन गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।