बर्दिवास – पूर्वउपप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भरतमोहन अधिकारीको निधनमा उनको जन्मथलो महोत्तरीको भ्रमरपुरा शोक छ ।
अधिकारीका समन्वयका बूढापाका उनको निधनले भक्कानिएका छन् । ‘भरतमोहन हाम्रा शान हुनुहुन्थ्यो, जो यहीँको माटोपानीमा हुर्किनुभएको हो’, बस्तीका ८३ वर्षीय युसुफ राइनले भने, ‘उहाँले राजनीतिबाट पनि भ्रमरपुरालाई चिनाउनुभएको थियो।’
स्व अधिकारीलाई भ्रमरपुराका बासिन्दा अत्यन्त मिलनसार, गरीबगुरुवाका हिमायती र आडम्बररहित नेताका रूपमा सम्झँदा रहेछन्। “बहुदलीय व्यवस्था (२०४६मा) आएपछि भरतमोहन दुई÷चारपटक भ्रमरपुरा आउनुभयो, पूरै बस्ती घुमेर आफ्ना उमेरका साथीलाई अङ्कमाल गर्दै हालचाल सोधेको भर्खरजस्तो लाग्दैछ’, सो बस्तीका ८० वर्षीय इस्माइल राइनले विगत सम्झँदै भने।
स्व अधिकारीले आफू जन्मेहुर्केको भ्रमरपुरालाई कहिल्यै नबिर्सेको त्यहाँका बूढापाका बताउँछन् । ‘भरतमोहनले भ्रमरपुरा कहिल्यै बिर्सनुभएन्, मन्त्री हुँदा होस् कि नहुँदा होस्, जनकपुरतिर आउँदा उहाँ हामीलाई भेट्न आइरहनुभयो’, बस्तीका अर्का ८१ वर्षीय सन्तोखी राइनले भने।
स्व अधिकारीले २०५१ मा अर्थमन्त्री हुँदा वृद्धवृद्धालाई सामाजिक सुरक्षाभत्ता र गाउँको विकासका लागि ‘आफ्नो गाउँ आफैँ बनाआँै’ कार्यक्रम ल्याएको भ्रमरपुरावासी सगर्व बताउँछन्।
‘भरतमोहन जब मन्त्री बनल, त बुझायल जे किछभेल, ओ वृद्धवृद्धा के भत्ता देलक आ गामक विकासक लेल तीनलाख रकम,’ बस्तीका ८५ वर्षीय तपेश्वर चौधरीले भने, “हुनके शुरु कैल वृद्धभत्ता ऐखन हम पायव रहलछि, गामगाममें सडक आआन विकासक काज सेहो ओहे शुरु कैलथ।’
अधिकारीको निधनको खबरले भ्रमरपुराका वृद्धवृद्धा रानो हराएको मौरीजस्तै भएका सो बस्तीका इस्लाम कवारी बताउछन्।
‘भ्रमरपुरा उहाँको जन्मनाताले हाम्रा पनि ठाउँमा मान्छे छन् भन्ने गर्व हुन्थ्यो’, सो बस्ती नजिककै खुट्टाटोलका सामाजिक कार्यकर्ता ४० वर्षीय नागेन्द्र चौधरीले भने, ‘उहाँलाई जहाँसुकै भेट्नासाथ भ्रमरपुराको भनेपछि माया गरेर सुम्सुम्याउँदै हालचाल सोध्नुहुन्थ्यो।’
लोहारपट्टी नगरपालिकाका प्रमुख शैलेन्द्र यादव पनि स्व अधिकारीलाई सौम्य, इमान्दार र आफ्नो जन्मथलोप्रति अपार स्नेह गर्ने नेताका रूपमा लिए।
पिताजी रामचन्द्र अधिकारी जागिरका क्रममा महोत्तरीको भ्रमरपुरामा छँदा विसं १९९३ मा भरतमोहन अधिकारीको जन्म भएको र बाल्यकाल यहाँ बितेको थियो । स्व अधिकारीपछि अब उहाँको परिवारमा भ्रमरपुरा सम्झने कोही होलान् नहोलान् भन्ने भ्रमरपुरावासी संशय प्रकट गर्छन् । परिवारका अन्यले यहाँसँगको नाता देखाइदिए अधिकारी परिवारप्रतिको लगाव सधैँ कायम रहने भ्रमरपुरावासीले आस सँगालेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।