जनकपुर- पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभापति देउवाले कम्युनिस्ट नेतृत्वको वर्तमान सरकारले दुई तिहाइको दम्भ देखाउँदै आम जनता र सञ्चारमाध्यमलाई लेख्न र बोल्न नियन्त्रण गर्न खोजेको आरोप लगाएका छन्। उनले सामाजिक सञ्जालमा रोक लगाएर संघीयताविरुद्ध अधिनायकवाद लाद्न खोजेको आरोप लगाए।
जनकपुर साहित्य तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सवको शनिबार उद्घाटन गर्दै सभापति देउवाले देशमै नेपालीपछि सबैभन्दा बढी बोलिने भाषा मैथिली रहेको चर्चा गर्दै मैथिली भाषा र मिथिला संस्कृतिले नेपाल–भारतलाई जोड्ने पुलको काम समेत गरेको बताए।
उनले भाषा र मिथिला संस्कृतिको प्रभाव तराई मधेसमा मात्रै नभई सम्पूर्ण देशमा रहेको उल्लेख गरे।
उनले मिथिला र मैथिली विकासका लागि आफ्नो पार्टीले सदैव सहयोग गर्दै आएको भन्दै आगामी दिनमा पनि यसका लागि लागिरहने प्रतिबद्धता व्यक्त गरे।
देउवाले प्रदेश र आम जनताको मौलिक हक खोसेर सरकारले गरिरहेको संघीयताविरोधी काम कांग्रेसलाई मान्य नहुने र त्यसविरुद्ध संघर्षमा जाने चेतावनी दिए।
कार्यक्रममा कांग्रेस उपसभापति विमलेन्द्र निधिले प्रदेश २ को पहिचान नै मिथिला र मैथिली रहेकाले प्रदेशको नाम मिथिला–भोजपुरा र भाषा मैथिली राख्नुपर्ने सुझाए। उनले प्रदेशको नाम मिथिला–भोजपुरा नराखिए कांग्रेस प्रदेश सरकारको विरोधमा संघर्षमा उत्रिने चेतावनीसमेत दिए।
मैथिली विकास कोष जनकपुरधामका अध्यक्ष जीवनाथ चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा फोरम नेपालका महासचिव रामसहाय यादव, राजपाका वरिष्ठ उपाध्यक्ष वृषेशचन्द्र लाल, नेकपाका रामचन्द्र झा, घनश्याम भुषाल, साहित्यकार डा राजेन्द्र विमललगायतका वक्ताले आआफ्ना धारणा व्यक्त गरेका थिए।
फागुन २३ गतेसम्म आयोजना हुने जनकपुर साहित्य तथा अन्तर्राष्ट्रिय महोत्सवमा मिथिला संस्कृति, मैथिली भाषाको वर्तमान अवस्था र संरक्षण, मिथिलामा सञ्चारको अवस्था र प्रदेशको नाम तथा भाषाबारे नेपाल–भारतका विद्वानबीच बृहत् छलफल हुनेछ। महोत्सवमा नेपाल, भारत र अफगानिस्तानसहितका विभिन्न देश र क्षेत्रका विविध भाषामा नाटक प्रदर्शन गरिनेछन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।