भैरहवा– राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मन्डलसहित केन्द्रीय समितिको बैठक रुपन्देहीको भैरहवामा सुरु भएको छ। अगामी वैशाखमा हुने पार्टीको महाधिवेशनलाई लक्षित गर्दै पाँच नम्बर प्रदेशको बैठक भैरहवामा बसेको हो।
बैठकमा केन्द्रीय अध्यक्ष मन्डलका संयोजक महेन्द्र राय यादवसहित सदस्य राजेन्द्र महतो, अनिलकुमार झा, शरतसिंह भण्डारी, राजकिशोर यादव सहभागी रहेका छन्। सदस्य महन्थ ठाकुरको अनुपस्थितिमा नेता शर्वेन्द्रनाथ शुक्लले बैठकमा प्रतिनिधित्व गरेका छन्।
त्यस्तै बैठकमा केन्द्रीय समितिका पदाधिकारी, कपिलवस्तु, रुपन्देही र नवलपरासी तीनै जिल्लाको अध्यक्ष मण्डलका संयोजक/सदस्य लगायतको उपस्थितिमा बैठक बसेको छ।
यसअघि राजपा प्रदेश नम्बर एकको विराटनगर, दुईको जनकपुर र पाँच तथा सातको संयुक्त रुपमा नेपालगञ्जमा समीक्षा बैठक सम्पन्न गरिसकेको छ। भैरहवा बसेको बैठकको खुल्ला सत्रमा सामूहिक छलफल हुनेछ। त्यसपश्चात रुपन्देही, नवलपरासी र कपिलवस्तुका पार्टीका नेता एवं कार्यकर्ताहरुसँग छुट्टाछुट्टै संगठन विस्तारसम्बन्धी अन्तरक्रिया कार्यक्रम हुने राजपा रुपन्देहीका संयोजक अजय बर्माले जानकारी दिए।
सरकार समर्थन गुमाउँदै छ : महतो
अध्यक्ष मन्डलका सदस्य राजेन्द्र महतोले सरकारले जनताको अपेक्षाअनुसार काम नगरेको बताएका छन्। बैठकका क्रममा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले जनताले बहुमतका साथ निर्वाचित गराए पनि सरकार संवेदनशील भएर नलागेको आरोप लगाए।
अहिले सरकारले जनताको अपेक्षाअनुसार काम नै गर्न सकेको छैन। उनले भने, ‘हामीले पनि मधेसका मागहरु सम्बोधन गर्नका लागि सरकारलाई समर्थन दिएका थियौँ तर अब सरकारले हाम्रो समर्थन गुमाउने अवस्थामा पुग्दैछ।’
उनले रेशम चौधरी, लक्ष्मण थारु ल्गायत आफ्ना नेता कार्यकर्तालाई रिहा नगरेमा सरकारले आफूहरुको समर्थन गुमाउनसक्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।