काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारीको हेलिकाेप्टर दुर्घटनाको समाचार चाँडै थाहा पाउनेमध्ये एक तेह्रथुमका सांसद विजय सुब्बा पनि हुन्।
संसदको राज्य व्यवस्था समितिमा गृहसचिव प्रेम राईले उक्त दुःखद् खबर सुनाउँदा उनी बसेको ठाउँबाट जुरुक्क उठे।
त्यसपछि बाहिरिन खोज्दै भने, ‘झन्डैले बाँचिएछ हौ!’
प्रिय व्यक्ति गुमाउनको पीडा र आफू संयोगले बाँच्नुको खुसीको दोहोरो रङ सुब्बाकाे अनुहारमा स्पष्ट झल्किन्थ्याे।
आफ्नो जिल्लामा विमानस्थल बनाउन उनले निकै प्रयास गरेका थिए। पर्यटनमन्त्री अधिकारीसँग अनुरोध पनि गरेका थिए। अवलोकनका लागि जाँदा आफू पनि सँगै जान खोजेका रहेछन् उनी। बुधबार मन्त्री अधिकारीसँग फोन सम्पर्क हुन नसकेपछि स्वकीय सचिव राजेन्द्र आचार्यलाई फोन गरेर भनेका थिए, ‘म पनि जान्छु है।’
आचार्यले थोरै सिटको हेलिकोप्टर भएकाले सिट मिल्यो भने खबर गर्ने बताएका थिए। उनी बिहीबार बिहानसम्म आचार्यको फोन कुरिरहे। तर, फोन आएन।
केही समयपछि उनले ‘सिट’ अभावका कारण सँगै लैजान नसकेको जानकारी मन्त्री अधिकारीका तर्फबाट प्राप्त गरे।
साढे ११ बजेदेखि राज्य व्यवस्था समितिमा नागरिकता विधेयक प्रतिवेदनमा छलफल थियो। उनी त्यतै लागे। जिल्लामा विमानस्थल बनाउने कुरामा उनको चासो थियो। स्थानीयसँग सम्पर्क गरिरहे। तर, कार्यक्रमकै समयमा राज्य व्यवस्थामा बैठक पर्याे।
समाचार सुनेपछि आफ्नो जिल्ला तेह्रथुमको चुहानडाँडामा विमानस्थल सम्भाव्यता अध्ययन गर्न मन्त्री अधिकारीसहित नागरिक उड्ययन व्यवसायी तथा प्राविधिक समूह गएको उनले समिति बैठकमा उपस्थित सांसद र पत्रकारलाई जानकारी गराए।
‘यस्तो दु:खद् खबर सुन्दा मन थामिन सकेको छैन,' सांसद सुब्बाले नेपाल लाइभसँग भने, ‘अन्तिम समयमा हेलिकप्टरको सिट प्याक रहेको जानकारी पाएपछि म जान पाएको थिइनँ।’
सुरुमा दुर्घटना परे पनि सबै सकुशल रहेको खबर पाउने आश सबैमा थियो। उनी पनि आशामा सिंहदरबारमा नै कुरिरहे। जिल्लामा फोन गरिरहे। जिल्लाबाट तीन वर्षमा एयरपोर्ट बनाएरै छाड्ने वाचा गरेको खबर आयो।
मन्त्री अधिकारीले विमानस्थल बन्ने लगभग पक्का भएको बताएर गएको स्थानीय एक व्यक्तिले सुनाए उनलाई। उनले सुस्केरा हाल्दै भने, ‘वाचा गर्ने मन्त्रीज्यूको अवस्था के होला?’
हलबाट हामी समितिकी सभापति शशी श्रेष्ठको सचिवालयतिर लाग्यौँ। सांसद सुब्बाले जिल्लामा सम्पर्क गरिरहे। फेरि खबर आयो, ‘उहाँहरु खाना खाएर काठमाडौंका लागि उड्नुभएको थियो।’
यत्तिकैमा अर्का सांसद नवराज सिलवालले ताप्लेजुङका डिएसपी सञ्जय सिंह थापालाई फोन लगाए। उताबाट डिएसपीले भने, ‘स्थानीयले दुर्घटना भएको बताएका छन्। प्रहरी पुग्दैछ।’
उताको आवाजमा निराशा बढी थियो।
यत्तिकैमा सुब्बाले सुस्केरा हाल्दै भने, ‘त्यो डाँडाले धेरैलाई खायो।’
उनले पूर्वराजा ज्ञानेन्द्र शाह दुईपल्ट प्रयास गरेर पनि पाथीभराको डाँडामा पुग्न असफल रहेको प्रसंग झिके। सुवास नेम्वाङ एकैपल्टमा त्यहाँ पुगेको भन्दै गाउँलेहरूले ‘भाग्यमानी’को उपमा दिएको प्रसंग सुनाए।
यत्तिकैमा हेलिकोप्टरमा सवार संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको नामसहितको सूचना आयो।
यति एयरलाइन्सका मालिक आङछिरङ शेर्पा, वीरेन्द्रप्रसाद श्रेष्ठ, ध्रुव भोछिभैया, युवराज दाहाल र अर्जुनकुमार घिमिरे सवार थिए। पाइलट प्रभाकर केसीले उडान भरेका थिए।
सुब्बाले लामो श्वास फेर्दै भने, ‘खत्तम भयो।’
आशाको खबर आउने संकेत नदेखेपछि कान्तिपुर दैनिकका संवाददाता मित्र मकर श्रेष्ठ र म बाहिरियौँ।
सांसद सुब्बाको शरीर पीडाले गह्रुंगो भएको थियो सायद। उनले निस्किने वा त्यहीँ बस्ने निर्णय लिन सकेका थिएनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।