काठमाडौं– नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का एक कार्यकर्तालाई प्रहरीले सुनसरीबाट पक्राउ गरेको छ। सुनसरीका एसपी राजन अधिकारीले विप्लव निकट नेकपाका एक जना कार्यकर्ता हतियारसहित पक्राउ गरिएको जानकारी दिए। तर उनले पक्राउ परेका व्यक्तिको नाम भने खुलाउन चाहेनन्।
‘भर्खरै हतियारसहित विप्लवका एक जना कार्यकर्ता पक्राउ गरेका हुन्। उनीमाथि हामी अनुसन्धान गर्दैछौं। अहिले नै सबैकुरा खुल्ने अवस्था छैन,’ उनले भने।
प्रहरीले अत्याधुनिक हतियारसहित पक्राउ परेको बताए पनि कुन हतियार हो भन्ने खुलाएको छैन।
काठमाडौं उपत्यकामा २ जना घाइते र एक जनाको ज्यान समेत जाने गरी भएको बम बिस्फोटपछि प्रहरीले विप्लवका नेताकार्यकर्ता धमाधम पक्राउ गर्न थालेको छ।
सोही क्रममा सुनसरीका जानवारी प्रहरी चौकीले विप्लवका एक कार्यकर्तालाई हतियारसहित पक्राउ गरेको हो।
उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।