राजविराज– भन्सारबाट सामान ल्याएबापत ‘हप्ता’ नबुझाउँदा सप्तरीमा एक सर्वसाधारण महिला सशस्त्र प्रहरी जवानद्वारा कुटिएकी छन्।
सीमा सुरक्षा कार्यालय राजविराज अन्तर्गतको तिलाठी बेस क्याम्पमा कार्यरत प्रहरी जवान दिपेन्द्र झाले तिलाठी–कोइलाडी गाउँपालिका–१, रही बिरपुरकी ४० वर्षीया अरुणदेवी यादवलाई कुटपिट गरेका हुन्।
कुटपिटबाट घाइते भएकी महिलाको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताको १७ नं. वेडमा उपचार भइरहेको छ। उनको नाक तथा छातिमा चोट देखिएको स्वास्थ्यकर्मीहरूले बताए।
भारतीय बजार कुनौलिबाट सामान लिएर आइरहेका बेला झाले प्रतिव्यक्ति ५ सय रुपैयाँ मागेको र सो रकम नबुझाउँदा कुटपिट गरेको पीडित महिलाले बताइन्।
‘घरमा किराना पसल भएकाले धेरैजसो सामान उतैबाट ल्याउँछु। भन्सार कटाएर सामान ल्याएकाले पैसा दिन्न भने,’ उनले भनिन्,‘कागज देखाउन खोज्दा एकाएक थप्पड हान्न थाले।’
झाले यसअघि पनि ‘म एसपीको घुमुवा हो’ भन्दै रकम असुली गर्ने गरेको अर्की महिला सुनिता मण्डलले बताइन्। ‘कतिपयले भन्सार बुझाएको भन्दा अलिकति बढी नै सामान ल्याउँछन्,’ उनले भनिन्, ‘त्यस्तासँग झाले हप्ताको ८ हजारका दरले पैसा उठाउँछन्।’
३ महिनाअघि मात्रै आफूले पनि झालाई ७ सयको कुर्सी किनेर दिएको उनले दाबी गरिन्।
बेसक्याम्पका इन्स्पेक्टर लाल बहादुर मेगीले कुटपिट भन्दा पनि सामान पक्राउ गरेकाले प्रहरीको बदनाम गर्न खोजेको भन्दै सफाइ दिएका छन्।
‘भन्सार छलेर सामान पास गराउन खोज्नेलाई प्रहरीले रोकेको हो, कुटपिट गरेको होइन,’ उनले भने, ‘प्रहरीलाई बदनाम गराउन बाहना बनाएको हुनसक्छ।’
सीमा सुरक्षा कार्यालयका डिएसपी नवीन बोगटीले पनि प्रहरीले हप्ता असुली गरेको विषयलाई इन्कार गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।