काठमाडौं– विवेकशील साझा पार्टीले आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय अगाडि प्रदर्शन गरेको छ।
पार्टीको प्रदेश ३ को भ्रष्टाचार विरोधी अभियानअन्तर्गत 'साना मात्र होइन ठूला माछा पनि समाऊ' भन्ने नारासहित प्रदर्शन गरिएको हो।
नाराबाजीमा उत्रिएका ३० प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको सो कदमलाई विवेकशील साझा पार्टीले सरकारको अधिनायकवादी चरित्रको रुपमा अर्थ्याएको छ।
'शालीन प्रदर्शन गर्ने क्रममा प्रदेश ३ संयोजक समीक्षा बास्कोटा लगायत ३० जना साथीहरुलाई प्रहरीले पक्राउ गरेको छ', पार्टी प्रवक्ता सूर्यराज आचार्यले ट्विट लेखेका छन्, 'सरकारको अधिनायकवादी चरित्र देखिंदैछ!'
प्रदर्शनकारीले 'जनता बस्छन् धुलोमा, आगो छैन चुलोमा', 'घुस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन्', 'चर्को स्वरमा बोलौं, भ्रष्टाचारीको पोल खोलौं' जस्ता नारा लेखिएका 'प्ले कार्ड' बोकेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।