जनकपुर- प्रदेश २ मा जबरजस्ती करणी (बलात्कार) घटनाको ग्राफ बढ्दै गएकाे छ। चालू आर्थिक वर्षको पुस मसान्तसम्म एक सय ३६ बलात्कारका घटना भएका छन् भने पुससम्म एक सय ९३ जनाविरुद्ध मुद्दा दर्ता भएका छन्।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता दानबहादुर थापाले आरोपीमध्ये ८७ जना अझै फरार रहेको बताए। तथ्यांकअनुसार १० देखि १६ वर्षका बालिका बढिजसो बलात्कारको सिकार भएको देखिन्छ। बलात्कारको सिकार भएकामध्ये ६० प्रतिशत साना बालिका रहेको तथा अधिकांश बलात्कारका घटना चिनजानकै व्यक्तिबाट हुने गरेको प्रहरी रिपोर्टले देखाएको छ।
यसबीचमा भएका केही प्रतिनधि घटनाका बारेमा नजर लगाऔं।
सामूहिक बलात्कारपछि दुतियाकाे जिउँदै जलाएर हत्या
धनुषामा आधा शरीर जलेको अवस्थामा मृत भेटिएकी बालिकाको हत्या भएको पुष्टि भएको छ।
धनुषाकी ११ वर्षीया बालिका दुतिया रसाइलीको शव जलेको अवस्थामा फागुन २ गते भेटिएको थियो। मिथिला नगरपालिका–३, हरिहरपुरका नारायण रसाइलीकी ११ वर्षीया छोरी दुतिया फागुन १ गते गाउँमै विवाह भोज खान गएकी थिइन्। साेही क्रममा नै उनकाे बलात्कारपछि हत्या भएकाे थियाे। उनको शव घर नजिकैको झाडीमा फेला परेको थियो। दुतिया बाेल्न सक्दिनन्।
घटना शंकाष्पद भन्दै २ नम्बर प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय धनुषाले अनुसन्धान सुरु गरेको थियो।
प्रहरीले घटनामा संलग्न युवकलाई मंगलबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको वटेश्वर- ४ बेगौली टोलका 'निरन' भनिने निरज जर्गा मगर छन्।
कसरी भयाे घटना?
धनुषाको मिथिला नगरपालिका-३, हरिहरपुरको मरधरस्थित मगरटोलका स्थानीयहरु फागुन २ गते बुधबार विवाहको भोज र नाचगानमा व्यस्त थिए। 'रेशमा' भनेर चिनिने दुतिया राति साढे ८ बजेसम्म विवाह भोजमा देखिएकी थिइन्। त्यसपछि उनको एकचोटी भोलिपल्ट मात्रै बिहान शव भेटिएको थियाे। नांगो र जलेको अवस्थामा शव भेटिएपछि प्रदेश प्रहरी कार्यालय २ र जिल्ला प्रहरी कार्यालय धनुषाले अनुसन्धान अघि बढाएको थियो।
पक्राउ परेका निरज जर्घा मगर आफ्नो मामाको घर मिथिला नगरपालिका֪-३ स्थित मगर टोल बस्ने इन्द्र बुर्जा मगरेकी छोरी मन्दिरा बुर्जा मगरेको विवाहमा गएका थिए। विवाह सकिएपछि उनी भोजमा पनि सहभागी भएका थिए। त्यसपछि विवाह घरमा नाचगान समेत भएको थियो।
नाचगानकै बीचमा बिजुलीको लाइन काटिएपछि केही केटाकेटीहरु बाहेक अधिकांश जसो आ-आफ्नो घर गएका थिए। सोही मौकामा रक्सी र गाँजा खाएका जर्घा मगरले ११ वर्षीया बालिका दुतियालाई फकाउन भनि नजिकैको किराना पसलमा लगेर चाउचाउ र फ्रुटी किनिदिएको अनुसन्धानमा खटिएका धनुषाका एसपी शेखर खनालले जानकारी दिए।
चाउचाउ र फ्रुटी किनिदिएपछि बालिकालाई मगरले खोलाको बाटो हुँदै उत्तरतर्फ अन्दाजी २ सय मिटर टाढाको पोखरीको पश्चिमतर्फकाे उखुबारीमा लगेका थिए।
खेतमा पुर्याएपछि बालिकालाई चाउचाउ र फ्रुटी खान दिई उनले जबरजस्ती करणी गरेका थिए। पछि बालिकाले गाउँमा गएर पोल खुलाउने डरले मगरले घाँटी थिचेर हत्या गरेका थिए।
हत्या गरेपछि बालिकाको शवलाई लुकाउने र फिंगर प्रिन्ट लगायतका प्रमाण नष्ट गर्न उनले उखुको सुकेको पात, बालिकाको कपडा र चप्पल राखेर लाइटरले आगो लगाएको बताएका छन्।
बालिकालाई आगो लगाएपछि उनी पुन: विवाह घरमा गएर नाच हेरेर बसेका थिए। अन्दाजी राति साढे ११ बजे उनी विवाह घरबाट नाचगान सकेर मामाघर गएर सुतेका थिए।
भोलिपल्ट बिहान उठ्दा गाउँमा हल्ला भएपछि उनी आफैं शव जलाएको ठाउँमा हेर्न गएका थिए। त्यसपछि पुन: मामा घर फर्किएर बिहान १० बजे गाउँबाट भागेका थिए।
मगर विभिन्न चोरी मुद्दामासमेत पटक-पटक पक्राउ परेका व्यक्ति भएको अनुसन्धानबाट खुलेको छ। उनी केटी जिस्काएको आरोपमा इलाका प्रहरी कार्यालय ढल्केबरले नियन्त्रणमा लिई कारबाही गरेको थियो। त्यस्तै, सार्वजनिक अपराधमा महानगरीय प्रहरी वृत कालिमाटीले पक्राउ गरेर तीन महिना केन्द्रीय कारागार बसेर छुटेका थिए।
उनी लागुऔषध सेवनकर्ता समेत भएको पाइएको छ। उनका बुवा भारतमा लेवर काम गर्छन्। उनी कहिले काठमाडौं जनकपुर तथा आफन्तकोमा बस्दै आएका थिए। उनी हाउस पेन्ट, खलासी र लेवर काम गर्थे।
छाेरीकाे हेक्का नराख्दा....
दुतसया दिउँसो र साँझको कार्यक्रममा सहभागी भएकी थिइन्। तर, विवाहकाे रमझममा दिन बिताएकी दुतिया घर फर्किनन्। छिमेकमै विवाह भएकाले दुतियाका बाबु, हजुरबा र हजुरआमा उतै सुती होली भनेर आफ्नो घरमा सुते। छाेरी कता सुती भन्ने हेक्का राखेनन्।
केही समयदेखि दुतियाका आमा बुवासँगै बस्दैनथे। दितियाको परिवार अहिले अर्काको घरमा बस्दै आएको छ। आगो ताप्ने क्रममा घर जलेपछि उनीहरू अर्काको घरमा बस्दै आएका हुन्। दितियाका अभिभावकमध्ये ८० वर्षीय हजुरआमा सूर्यमाला रसाइलीको आँखाको दृष्टिशक्ति कमजोर छ। उनका बाबु देवनारायण विश्वकर्मा (रसाइली) सोझो स्वभावका छन्।

यस्तो परिवारमा बुधबारको विवाहको रमझम सकिन नपाउँदै बज्रपात आइपर्याे। सम्भवत: उक्त परिवारले सोचेको थिएन होला, बुधबार विवाहको रमझम सकिन नपाउँदै बिहीबार दुतिया होइन उनको शव भेटिनेछ भनेर। तर, भयो त्यस्तै।
बुधबार साँझ विवाहपछि नाचगान भइरहेका बेला विवाह घर गएकी कक्षा २ मा अध्ययनरत दुतिया रसाइली (रेशमा)को शव बिहीबार बिहान १० बजेतिर घरभन्दा करीब २ सय मिटर पर उखुबारीमा फेला पर्यो।

बिहीबार बिहानसम्म पनि घर नफर्किएपछि उनको खोजी सुरु भएकाे थियाे। तर, छरछिमेक र गाउँले सबै लाग्दा पनि उनकाे पत्ताे पाउन सकेनन्। बिहीबार बिहान १० बजेतिर खेत जोत्न ट्रयाक्टर लिएर जाने एक जना स्थानीयले बच्चाको शव जलाएको अवस्थामा खेतमा रहेको खबर गाउँमा गरे।
उक्त खबर पाएपछि गाउँलेका बीचमा काैतुहलता र सन्नाटा छायो। जे भए पनि उक्त स्थानमा जानु उनीहरूको बाध्यता थियो, गए। तर, शव झट्टै चिन्न सक्ने अवस्थामा थिएन। दुतियाले लगाउने स्वेटर र हातले शव उनकै हो भनी घरपरिवार र स्थानीयहरुले यकिन गरे।
महिला अधिकारकर्मीहरु आन्दोलित
घटनास्थल पुगेकी महिला अधिकारकर्मी विना कडारीका अनुसार उखुबारीमा उनको शव जलाइएको अवस्थामा फेला परेको थियो। 'शरीरमा कपडा थिएन, वरिपरि रगतका केही छिटाहरु देखा परेका थिए। उनको बलात्कारपश्चात् पहिचान नहोस् भन्ने मनसायले अपराधीले जलाएको हुनसक्ने कडारीले बताइन्।
घटनाबारे तत्कालै गाउँलेले प्रहरीलाई खबर गरे। उखुबारीमा शव फेला परेको खबर पाएपछि इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी घटनास्थल पुग्यो र अनुसन्धान थाल्यो।
मृतक दुतियाको आधा शरीर जलाइएको अवस्थामा भेटेपछि उनकाे शव पोस्टमार्टमका लागि जनकपुरस्थित अञ्चल अस्पताल लगियो।
दुतियाको हत्या भएकाे पुष्टि भएपछि हत्यारालाई कारबाहीकाे माग गर्दै महिला अधिकारकर्मीले प्रदर्शन गरेका छन्। ‘दुतिया रसाइलीलाई न्याय देऊ’, ‘हत्यारालाई कारबाही गर’, ‘लागुऔषध बन्द गरौं’ जस्ता नारा लगाउँदै महिला अधिकारीकर्मीले मिथिला नगरपालिकाको मुख्यबजार क्षेत्र ढल्केवरमा प्रदर्शन गरेका छन्।

दुतिया हत्याका सम्बन्धमा निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कठघरामा उभ्याउन महिला अधिकारकर्मीहरूले माग गरेका छन्।
पिडित परिवार अर्थात् रेशमाकी आमाले छोडेर गएपछि उनको हेरचाह गर्दै आएकी ८० वर्षीया हजुरआमा सूर्यमाला रसाइली अहिले विक्षिप्त अवस्थामा छिन्। नातिनीमाथि राखेका सपना तुहिएका छन्। सूर्यमालालाई घरमा सघाउने ८५ वर्षीय श्रीमान् र स्पष्टसँग बाेल्न नसक्ने देवनारायण विश्वकर्माको खुसीको संसारमा बज्रपात परेको महिला अधिकारकर्मी कल्पना कडारीले बताइन्।
उनी भन्छिन्, ‘हामी महिला अधिकारकर्मीहरु यस घटनाको सघन रुपमा छानबिन गर्न अनुरोध गर्छौं।’ अपराधीलाई कडा भन्दा कडा कारबाहीका लागि प्रहरी प्रशासन उपर दबाब सिजर्ना गर्ने उनको भनाइ छ।
साेमबार बलात्कारको अर्को प्रयास
जनकपुरधाम उपमहानगरपालिका घर भएकी १० वर्षीया बालिकामाथि बलात्कारको प्रयास गरिएकाे छ। बलात्कार गर्ने प्रयास गरेकाे आरोपमा भारतको बेतिया जिल्ला जमुनिया ग्राम पञ्चायत ३ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका-४ बस्ने ५० वर्षका सञ्जय ठाकुरलाई प्रहरीले पक्राउ गरेको छ।
ठाकुरले बालिकालाई घर पुयाइदिन्छु भन्दै लगेर बलात्कारको प्रयास गरेको परिवारकाे आराेप छ। उनलाई आइतबार साँझ धनुषा प्रहरीले पक्राउ गरेकाे हाे।
७ महिने बालिकाको अपहरण गरी बलात्कारपश्चात् हत्या
सन्तोष चौधरी महोत्तरीकाे औरही बजारमा फेन्सी तथा किराना पसल सञ्चालन गर्छन्। २०७५ भदौ १० गते, रक्षाबन्धनको त्याे दिन पसलमा केही भीड थियो। त्यही भीडको मौका छोपेर साँझ ६ बजेतिर पसल बाहिरबाट ७ महिने साेनाली कुमारी बेपत्ता हुन्छिन्।
बच्चा हराएकै दिन साँझबाटै स्थानीय र प्रहरीले खोजतलास सुरु गरेका थिए। शिशुको खोजीमा जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय गौशाला र भंगहाको प्रहरी टोली खटिएको थियो।
मृतक शिशुका आफन्त रामअशिष चौधरीले दिएको जानकारीअनुसार औरही गाउँभन्दा पूर्व खेतमा बच्चीको शव फेला परेको थियो।

औरही नगरपालिका-१ स्थित मुख्य बजार क्षेत्रबाट अपहरणमा परेकी सोनालीको शव भदौ ११ गते भंगाह नगरपालिका र औरही नगरपालिका-१ को सिमानामा फेला परेको थियो।
घटनामा भंगाहा नगरपालिका-६ का भरत साहको संलग्नता रहेकाे सिसिटिभी फुटेजबाट देखिएको थियो। सिसिटीभीमा साहले नै शिशुलाई बोकेर लगेको देखिएपछि प्रहरीले खोजतलास सुरु गरेको थियो। पसलमा सामान किन्ने मान्छे आएको मौका छोपी सन्तोषलाई चिन्छु, भन्दै छोरीलाई काखमा बोकेको र खेलाउँदा-खेलाउदै लगेको प्रत्यक्षदर्शीहरुले समेत बताएका थिए।
भंगहा नगरपालिका-३, हतिसर्वा गाँउ बस्ने २६ वर्षीय भरत साहमाथि सोनालीकाे अपहरण गरी बलात्कारपश्चात् हत्या गरेको आरोप लाग्याे।
साहलाई कार्तिक ३ गते गिरफ्तार गरिएकोमा जिल्ला अदालत महोत्तरीको मंसीर २ गतेको आदेशले पुर्पक्षको लागि जेल चलान गरिएकाे जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। घटना लगत्तै शाह भारत पसेका थिए। केही महिना भारतका विभिन्न स्थानमा समय बिताएका साह नेपाल फर्किएकाे समयमा प्रहरीले पक्राउ गरेकाे थियाे।
सोचमा परिवर्तन जरुरी
बलात्कारका घटना बढ्नुमा मोबाइल फोनमा पोर्न भिडियो, तस्बिर र पाेर्न साइटहरूको मुख्य भूमिका हुने गरेको विज्ञहरु बताउँछन्।
महिलालाई शरीर वा वस्तुको रूपमा लिइने व्यवहार र परम्पराले बलात्कारका घटना बढाउन सहयोग गरेको 'जेन्डर मास्टर ट्रेनर' नरमाया श्रेष्ठको तर्क छ। ‘एकातिर महिलालाई सजावट र ग्ल्यामरका रूपमा देखाइने गरिन्छ,’ श्रेष्ठले भनिन्, ‘अर्कोतिर इन्टरनेटको दुरुपयोगले यौनइच्छा बढाउने र पूर्ति गर्न बलात्कारमा उत्रने गरेको देखिन्छ।’ घरमै पनि महिला र बालिका असुरक्षित रहेको चर्चा गर्दै उनले बलात्कारीलाई सजाय भए पनि विकृत मानसिकता र सोचमा परिवर्तन नआएसम्म बलात्कारका घटना अन्त्य नहुने दाबी गरिन्।
बढ्दो बलात्कार र हिंसाका घटनाले महिला सबैतिर असुरक्षित रहेको देखाएको छ। ‘घर, कार्यालय, सडक कहीँ पनि महिला र बालिका सुरक्षित छैनन्,’ महिला अधिकारकर्मी रेखा झाले भनिन्, ‘रुढीवादी सोच, परम्परा र महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन सबै जुट्नु जरुरी छ।’
बलात्कारी पुरुष समाजमा खुलमखुल्ला हिँड्ने र बलात्कृत महिलालाई समाजले हेयको दृष्टिले हेर्ने अवस्थाका कारण पनि महिलामाथि हिंसा बढ्दो छ।
त्यसो त यौनकुण्ठा पालेर राख्नु नै अपराधको सुरुवात भएको समाजशास्त्री नागेन्द्र दुबेको भनाइ छ। दुबेले भने, ‘हामीकहाँ यौन सामाजिक रूपमा बन्देज छ। त्यसैले मौका मिल्नासाथ मानवले दानवको रूप लिन्छ। यसलाई नियन्त्रण गर्न स्थान विशेष तोकिनुपर्छ, जहाँ गएर उ भुल्न सकोस्।’
'छिटो न्याय नपाउँदा पनि घटना बढ्दाे'
इन्सेक प्रदेश २ प्रमुख राजु पासवानले बलात्कारका मुद्दामा अदालतबाट महिला वा बालिकाले छिटो न्याय नपाउँदा पनि घटना बढिरहेको बताउँछन्। न्यायका निम्ति पीडित महिला र बालिका बारम्बार अदालत पुग्नुपर्ने अवस्था मात्र नभई उनीहरूलाई सोधिने हतोत्साही बनाउने खालका प्रश्नले पीडित थप पीडित हुने गरेको अनुभव पासवानले सुनाए।
समाजिक अभियन्ता मनोज सिंह दनुवारले अहिले समाज देखिएका धेरैजसो घटनाहरुमा मानव संवेदनशीलतासमेत ह्रास भएको दाबी गर्छन्। ‘अहिले अबोध दुधे बालिकादेखि ७० वर्षीया वृद्धासम्म बलात्कारको सिकार बन्नु परेको देख्दा समाज कति विकृतिको खाडलमा भासिएको छ भन्ने स्पष्ट चित्र देख्न सकिन्छ’, सिंहले भने।
उनले अहिले बालिका बचाउन नै मुश्किल भएको अवस्था देखिएको समेत दाबी गरे। अहिले समाजमा नैतिक मूल्य, मान्यताको ह्रास भएको बताउँदै सिंहले भने, ‘आजभन्दा १५/२० वर्ष पहिले यस्ता घटनाहरु हुँदैन थिए।’
उनले बालबालिकाहरुलाई नैतिक शिक्षा, मानवीय मूल्यमान्यताका कुराहरु पढाउनु पर्ने आवश्यकता रहेको औैल्याउँदै हरेक क्षेत्रबाट जनचेतना फैलाउने किसिमका अभियानहरु सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताए।
यस्ताे छ तथ्यांक
अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) प्रदेश २ जनकपुरको तथ्यांकअनुसार सन् २०१८ मा महिला अधिकार उल्लङ्घनका घटनामा २ सय ६१ जना पीडित भएका छन्। त्यस्तै बलात्कारका घटनामा ४५, बलात्कार प्रयासका घटनामा ३६, बेचबिखनका घटनामा ६, बहुविवाहका घटनामा ५१, कथित बोक्सीको आरोपसम्बन्धी घटनामा १९ र घरेलु हिंसाका घटनामा १ सय ४ जना पीडित भएको घटना इन्सेकको प्रदेश २ को कार्यालयले अभिलेख गरेको पासवानले जनाए।
परिवारजनबाटै यो अवधिमा १५ जना महिलाको हत्या भएको अभिलेख गरिएको जनाए।
यस अवधिमा बाल अधिकार उल्लंघनका घटनामा १ सय ६० जना बालिका पीडित भएका छन्। जसमध्ये बलात्कार घटनामा १ सय १६, यौन दुर्व्यवहार घटनामा ३१, बालिका बेचबिखन घटनामा ५ र बालविवाह घटनामा ८ जना पीडित भएको इन्सेकले जनाएकाे छ।
यो अवधिमा धनुषामा १० वर्षीया एक, महोत्तरीमा ८ महिने शिशु एक, सप्तरीमा ११ वर्षीया र ५४ वर्षीया महिला गरी ३ बालिका र एक महिलाको बलात्कारपछि हत्या भएको प्रतिवेदनमा उल्लेख गरिएको छ। ८ महिने दुधे बालिकादेखि ७० वर्ष उमेर समूहका महिला बलात्कार घटनामा पीडित भएको इन्सेकले जनाएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।