जनकपुर- लुटपाट घटनामा संलग्न रहेको आरोपमा २ जना भारतीय नागरिक सहित ३ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सर्लाही, लालबन्दी नगरपालिका-२ पुनर्बास बस्ने शक्ति कपुर पासवान, भारत बिहार मधुवनी मरनैयाका राजकुमार मण्डल, मधुवनी थाना लदनिया तेनुवाही १२ का उपेन्द्र यादव रहेको महोत्तरी जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
गत पुस २२ गते मनरा नगरपालिका २ स्थित भेलहीका रामसेवक यादवको घर गोदाममा भएको लुटपाटमा संलग्नताको आरोपमा तीनै जनालाई पक्राउ गरिएको महोत्तरीका डिएसपी खगेन्द्र खड्काले बताए। लुटपाटको खबर पाएलगत्तै गएका प्रहरी टोली र लुटेरा समूहबीच गोली हानाहान समेत भएको थियो।
प्रहरीले पक्राउ परेकाहरुका साथबाट चार थान मोटरसाइकल, नगद र मोबाइल फोन बरामद गरेको छ। पक्राउ परेकाहरुको साथबाट ज १० प ३८७३ ग्लेमर मोटरसाइकल, भारतीय नम्बर प्लेटको होण्डा एक्स ब्लड मोटरसाइकल, ना ३८ प ५९७१ नम्बरको पल्सर, ना ५६ प ४२३५ नम्बरको एफजेड मोटरसाइकल बरामद भएको छ।
त्यस घटनामा संलग्न रही फरार रहेका अन्य लुटेराहरुको ब्यापक खोजी भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।