काठमाडौं– लुटपाटमा संलग्न गिरोहलाई धनुषा प्रहरीले हतियार र लागुऔषधसहित पक्राउ गरेको छ।
गत माघ १० गते धनुषाको कमला नगरपालिका-१ मंग्राहस्थित ब्रह्मदेव यादवको घरमा लुटपाट गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरुले यादवको घरबाट अन्दाजी ३ लाख १२ हजार रुपैयाँ बराबरको धनमाल लुटेका थिए भने सोही नगरपालिका–३ स्थित रामचन्द्र यादवको घरबाट १ लाख ६७ हजार रुपैयाँ बराबरको धनमाल लुटेका थिए।
लुटेर फरार भएको उक्त गिरोहलाई इलाका प्रहरी कार्यालय खजुरीको टोलीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा धनुषाको विदेह नगरपालिका–४ का २४ वर्षीय सोमन पासवान, सोही ठाउँका २८ वर्षीय रञ्जीत भनिने अरुण पासवान छन्।
प्रहरीले उनीहरुका साथबाट कटुवा पेस्तोल एक थान, त्यसमा लाग्ने गोली २ थान, नगद ९ हजार ९ सय २५, लागू औषध र लुटपाट गर्न प्रयोग गरिने विभिन्न सामाग्री बरामद गरेको छ। उनीहरुमाथि हातहतियार तथा खरखजना र डाँका मुद्दामा अनुसन्धान भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।