भैरहवा- भगवान् बुद्धका अनुयायी (भिक्षु) हरु पैदल यात्रा गरेर लुम्बिनी पुगेका छन्। काठमाडौंबाट पैदल यात्रामा निस्किएका भिक्षुहरु विश्व शान्तिको कामना गर्दै लुम्बिनी पुगेका हुन्।
काठमाडौंबाट पैदल यात्रामा निस्किएका उनीहरु १८ दिनमा भैरहवा हुँदै लुम्बिनी पुगेका हुन्। विश्वमा शान्तिको कामना गर्दै थाइल्यान्ड, रसिया, भारत र नेपालका गरी ५५ जना भिक्षुको टोलीले लुम्बिनीसम्म शान्ति पदयात्रा गरेको हो।
गौतम बुद्धले ४५ वर्षसम्म हिँडेर विश्वमा शान्तिको प्रचार गरेकोले त्यसको स्मरणमा आफूहरु पैदल यात्रामा निस्किएको लुम्बिनी विश्वविद्यालयका उपप्राध्यापक भिक्षु वजिरले बताए।
प्रत्येक दुई वर्षमा यी भिक्षुहरु शान्तिपद यात्रा गर्दै लुम्बिनी आउने गरेका छन्।

विगतका वर्षहरुमा भिक्षुहरुले बुद्धले ज्ञान प्राप्त गरेको स्थल भारतको बोधगायाबाट लुम्बिनीमा आउने गरे पनि यस पटक भने उनीहरु काठमाडौंबाट आएका हुन्। उनीहरु भोलि बुद्धको नगरी तिलौराकोट जाने कार्यक्रम छ।
काठमाडौं, थानकोट, चित्लाङ, चन्द्रगिरीडाँडा, कुलेखानी, हेटौंडा, नारायणघाट, दाउन्ने, रामग्राम, भैरहवा हुँदै टोली लुम्बिनी आइपुगेको हो। पदयात्राका क्रममा उनीहरु विद्यालयमा र बौद्ध सम्पदामा बास बसेका थिए।

आइतबार रामग्राम आइपुगेपछि आफूहरुले बुद्धको अस्तु रहेको स्थान रामग्राममा रातभर ध्यान गरेको सिद्धार्थ बौद्ध समाजका अध्यक्ष सुवर्णमुनि शाक्यले जानकारी दिए।
रामग्रामबाट सोमबार बिहान ४ बजे पदयात्रामा निस्किएका उनीहरु बिहान १० बजे भैरहवामा आएका थिए। रामग्रामदेखि भैरहवासम्मको दुरी झन्डै ३० किलोमिटर छ।भैरहवा आएर उनीहरुले नगर परिक्रमा गरेका थिए।

थेरावादी समुदायका यी भिक्षुहरु अरु बौद्ध भिक्षुभन्दा कट्टर हुन्छन्। पदयात्रामा रहेका यी भिक्षुहरु अधिकांश समय जंगलमा बिताउने, जंगलमा पाइने जडीबुटी तथा फलफूल सेवन गर्ने गर्दछन्।

आफ्नो उपचार पनि यी भिक्षुहरुले आयुर्वेदिक पद्धतिबाट उपचार गर्ने गर्दछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।